केशव दाहाल
सानो प्रश्न माथी विचार गरौँ । एउटा देशलाई सिँगार्न कति बर्ष चाहिएला ? बिश्व अनुभबले भन्छ एक दशकमा देख्न सकिने परिवर्तनहरु ल्याउन सकिन्छ । बिस बर्ष देश बनाउनेहरुका लागी गतिलै समय हो । यसकालागी हामै्र वरिपरी प्रशस्त उदाहरणहरु छन् ।
जस्तो चिन, भारत, मलेसिया, सिंगापुर, जापान । माओको क्रान्तिपछी चिनलाई देङ्ग सिआयो पिङ्ले सिंगारे । उनलाई आधुनिक चिनको कुशल सिल्पकार मानीन्छ । साँस्कृतिक क्रान्तिपछिका २० बर्षमा चिनको आर्थीक बृद्धि लगभग तिन गुणले बढेको बताईन्छ । आज चिन संसारकै शक्तिशाली र विकसीत देश भएको छ ।
दोश्रो बिश्वयुद्ध सम्म आईपुग्दा जापन निकै कमजोर थियो । लिटिल ब्वाईहरुले हिरोसीमा र नागासाकी खरानी बनाएका थिए । तर त्यहि खरानीको जगमा बिस बर्ष भित्रै जापानले आफ्नो अर्थतन्त्र निर्माण गर्यो । मोहमद मोहथिरको मलेसिया केहि दशक अगाडिसम्म साम्रज्यवादको हस्तक्षेप, आन्तरिक युद्ध र गरिवीको चपेटामा थियो । तर मोहथिरको सपनाले २० बर्षमा आकार लियो । आज मलेसिया लाखौ नेपालीको श्रम गन्तब्य बनेको छ । केहि दशक अगाडि नेपाल र थाईल्याण्ड उस्तै थिए । आज थाईल्याण्ड सफल देशको सुचिमा छ । स्वराज प्राप्त गरेको २० बर्षमानै भारत बिश्वको महत्वपुर्ण आर्थिक शक्ति बनिसकेको थियो ।
तर नेपाल किन बनेन ? ०४६ देखि यताका हाम्रा अनेकौं बर्ष बिते तर कुनै करिस्मा देखिएको छैन । अर्थात हामी असफल छौं । राजनीति सफल छैन । अरु मुलुकहरु विकास र सम्बृद्धिको उकालो चढिरहेका छन् । तर हामी गरिवीको पैरोमा फसेका छौ । यो सब हुनुमा कस्को दोष छ ? वैकल्पिक राजनीतिको उत्प्रेरक प्रश्न यही हो । अन्यथा कि त भन्नुपर्यो हाम्रो जमीन नै खराव छ । चित्त बुझाउन पर्यो, हामीलाई सतिले सरापेकै हो । हामी जनता नै खराव छौँ । अन्यथा गडवडि कहाँ छ ? देशको सफलता र असफलतामा मुलतः राजनीति सबैभन्दा जिम्मेवार हुन्छ । त्यसैले ठोकुवा गरेर भन्न सकिन्छ, खरावी छ राजनीतिकमा । अर्थात, राजनीतिक विचार, कार्यशिदा र मुद्धाहरुमा । दर्शनमा । राजनीतिक कार्यक्रममा । राजनीतिक दल, नेतृत्व र संगठनमा । साथसाथै, हामीले निर्माण गरेको राजनीतिक ठर्रा, संस्कार र संस्कृतिमा ? राजनीतिक विकल्पको खोजीगर्दा यि प्रश्नहरुले गम्भिर बहसको माग गर्दछन् ।
आशावादी मान्छेहरु नेपाल दश बर्षमा फेर्न सकिने बिश्वास गर्दछन् । हामीसंग थोरै जनसंख्या
छ । मेहनती मान्छेहरु छन् । अपार प्राकृतिक श्रोत छ । पानी छ , हिमाल छ , तर दुर्भाग्य हामीसंग राजनीति छैन । राजनीतिमा नवीन चिन्तन, विचार, कार्यक्रम र प्रतिवद्धता छैन । सबै जमेको छ । सबै खिया लागेको छ । सोच, शैली र संस्कारमा सृजनशिलता छैन । त्यसैले विकल्पको खोजी अहिलेको राजनीतिक आवस्यकता हो ।
के हुनसक्छ राजनीतिक विकल्प ?
पुरानै माओवादी राजनीति काँधमा बोकेर माओवादी पार्टी विकल्प हुनसक्छ ? अथवा एमाले अहिले जे जस्तो छ, त्यही राजनीतिको जगमा एमाले हाम्रो भबिश्य बन्न सक्छ ? के संवैधानीक राजतन्त्र भन्नेहरु नेपाली राजनीतिका विकल्प हुन् त ? या कांग्रेसको परम्परागत लोकतन्त्रको भारीले विकल्प देला ? विकल्पका लागी विचारमा नवीनता र राजनीतिक कार्यक्रममा ताजापन चाहिन्छ । पार्टी पद्दतिहरु नयाँ बनाउन पर्दछ । नेतृत्वशैली र संस्कृति फेर्न आवश्यक हुन्छ । विकल्प नयाँ राजनीतिक सिदान्त, नयाँ राजनीतिक अभ्यास र नयाँ राजनीतिक संस्कृतिहरु बाट निर्माण हुन्छ । पुरानौ बाटोमा हिडेर पुग्नेत उही पुरानै ठाँउमा न हो ।
राजनीतिक विकल्प निर्माणका लागी बहुआयामीक श्रोतहरु खोज्न आवस्यक छ । माक्र्सवाद कि पुजीवाद भन्ने साँघुरो घेराभन्दा ब्यापक तहबाट नेपाली राजनीतिले विचारको आधार खोजिरहेको छ । दलाल समाजवाद र अराजक लोकतन्त्रले हामीलाई भलो गरेन । कहिल्यै प्राप्त नहुने भाषणले मात्र अव पुग्यो । बलिया र निर्दाहरुलाई खुल्ला प्रतिस्पर्धा गराउने ढोगी लोकतन्त्रले न्याय दिएन । चालु राजनीतिक ज्ञान, अभ्यास र संस्कृतिले न त जिवन बुझ्न सहयोग पुग्यो न त बदल्न नै सघायो । त्यसैले विकल्पहरु सृजनागर्न फरक ज्ञान, विचार र चिन्तन आवश्यक देखिन्छ ।
यसैगरी हामीले या त युरोप, या त चिन, या त सोभीयत ज्ञानलाई नेपाली राजनीतिमा अवलम्वन गर्यौ । तर प्रत्येक देशको राजनीति आफ्नै बिशिष्टताता हुन्छ भन्ने भुल्यै । किनभने हाम्रा राजनीतिका गुरुहरु ज्ञानको अर्कै सिखरमा पुगीसके हामी भने पुरानौ ज्ञानको कुवामा रमाईरहेका छौ । पुराना पार्टी वा नयाँ कुवामा बसेर विकल्पको दावीगर्नु थुम्किमा चढेर सगरमाथाको बखान गर्नु जस्तै हो । विकल्प निर्माण त खुल्ला आकासको विचरण जस्तो पो हुन्छ ।
हामीले लोकतन्त्र ल्यायौँ । तर लोकतन्त्रलाई आर्थिक तथा सामाजीक जिवनमा संस्थागत गर्न सकेनौँ । लोकतान्त्रिक सँस्कृति कस्तो हुनुपर्दछ अहिलेसम्म बनाउनै सकेनौ । लोकतन्त्र बलियो बनाउन कस्तो राजनीतिक चरित्रल आवस्यक हुन्छ ? हाम्रो ब्यवहारले लोकतान्त्रिक राज्य निर्माणमा योगदान गरिरहेको छ कि क्षति भैरहेको छ ? यतातिर हाम्रो राजनीति केन्द्रित भएन । त्यसैले हाम्रा नेताहरु राजनीतिक दर्शनका कर्मकाण्डि पंण्डित भए । उनिहरुलई पुराण बाचन गर्न मात्र आउछ । त्यसलाई अवलम्वन गर्ने उनिहरुमा पटक्कै रुचि छैन ।
विकल्प कस्ले बनाउने ? राजनीतिक उल्झनहरुबाट मुलुकलाई निकास दिने दायित्व कस्को ? सम्बद्ध नेपाल कस्ले बनाउछ ? यि प्रश्नहरुको सहि जवाफ समकालीन राजनीतिक दलहरुमा भेटिएन । दुर्भाग्य, उनिहरुसंग भबिश्य बनाउने तागत देखिएन । यसर्थ विकल्पका लागी ईमान्दार र सचेत नागरिकले स्वप्रयत्नहरु बढाउन आवस्यक छ । यसका लागि तल्लो तहबाट राजनीतिक विकल्पमाथी छलफल, बहस र अन्तरकृयाहरु गर्न आवस्यक देखिन्छ । कस्तो राजनीति, कस्तो पार्टी र कस्ता नेताहरु हामीलाई चाहिएको हो ? त्यसको स्पष्ट उत्तर बनाउन आवस्यक छ ।
राजनीतिक विकल्पहरुको खोजीकालागी पार्टी भित्र स्वस्थ वैचारिक तथा राजनीतिक संघर्ष, पार्टी बाहिर सचेतना र हलचल आवश्यक छ ।
पार्टी भित्र रुपान्तरणको खाँचो छ । दलहरु स्वयं सच्चिन, सुध्रिन र सृजनात्मक विकल्प दिन सजिलो हुन्छ । तर यो सबै गरिरहदा पनि समकालीन राजनीतिक दलहरु फेरिएनन् भने के हुन्छ ? निश्चित छ ईतिहास अगाडि बढ्छ । पुरानाहरु हराउछन् र नयाँहरुको जन्म हुन्छ । यो समाजको स्वचालित नियमनै हो । प्रयत्नले त्यसलाई गतिमात्र थप्दछ । देश कस्ले चलाउछ यो महत्वपुर्ण कुरा होईन । बरु देश कस्ले बनाउछ त्यो निकै महत्वपुर्ण कुरा हो । देश बनाउने राजनीतिको खोजीनै विकल्पको खोजी हो । keshabpdahal@gmail.com
Discussion about this post