उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् । गत माघ २८ गते भएको उवासंघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित पराजुलीसँग समसामयिक विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश –
चुनाव जितिसकेपछि मतदाताको प्रतिक्रिया के पाउनुभयो ?
-मुख्यतयाः इटहरीमा पार्किङको विषयमा व्यवसायी साथीहरूले गुनासो गर्नुभएको छ । पहिलो चरणमै मेरो काम भनेको स्थानीय सरकार र शान्ति सुरक्षाका निकायसँग समन्वय गरी पार्किङ व्यवस्थापनका लागि भूमिका निर्वाह गर्नेछु ।
खासगरी इटहरीमा व्यवसायिक करको विषयमा पनि समस्याहरू आइरहेका छन् । उपमहानगरले कर चुक्ताको आधारमा व्यापारीसँग कर लिने गरेको छ । अब कर चुक्ताको आधारमा नभई पुँजीको आधारमा कर लिनुपर्छ भनेर हामीले ठोस कदम चाल्नेछौँ ।
करको कुरा उठिरहँदा घरबहालको पनि समस्या छ । खासमा घरबहाल कर घरधनीले तिर्नुपर्ने हो, व्यापारीले नै तिरिरहेको अवस्थामा यसको निमयनका लागि तपाईँ नेतृत्व उवासंघको भूमिका के हुनसक्छ ?
-खासमा घरबहाल कर सम्बन्धि सरकारको ऐन नै बनेको छ । घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्ने हो । सोही अनुसार ऐन छ । तर, अहिलेपनि व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको अवस्था विद्यमान छ । यो धेरै वर्ष अगाडिदेखि उठेको कुरा हो, कार्यान्वयन भने हुन सकेको छैन । अब घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्छ भनेर हामी पहल गर्नेछौँ । कति सम्भव हुन्छ, त्यसका लागि व्यापारी साथीहरूको पनि आवश्यक सहयोग चाहिन्छ ।
तपाईँसँग व्यवसायीका अपेक्षा के छन् ?
-अपेक्षा धेरै नै छ । अहिलेको नेतृत्वले फरक किसिमले काम गरोस् भन्ने आम व्यवसायीको चाहना रहेको बुझेको छु । ठूला–ठूला काम भन्दा पनि व्यवसायीहरूले मसिनो कामको अपेक्षा गर्नुभएको छ । साना, मझौला र ठूला व्यवसायीलाई समेटौँ भन्ने धेरैजसोको अपेक्षा छ ।
व्यवसायीका समस्या चैँ केके छन् ?
-इटहरीमा सबैभन्दा पहिलो कर र दोस्रो भनेको पार्किङको समस्या छ । हाल कर, पार्किङ व्यवस्थापनसँगै घरबहाल कर, बैँकिङ ऋण, बिहीबार र शनिबार हुने बन्दबारे अन्यौलता र लेनदेन जस्ता समस्या रहेको छ । आजकै दिनमा पनि मैले उद्योग वाणिज्य महासंघसँग यी समस्याबारे टेलिफोनमार्फत संवाद गरेको छु । व्यवसायीका साना समस्या समाधान नभएको अवस्थामा माथिल्लो निकायसँग कुरा गरेर समस्या समाधान गर्नका लागि मेरो भूमिका हुनेछ । खासगरी मैले भन्दा पनि मेरो नेतृत्वको टिमले व्यवसायीका समस्या समाधान गर्ने कुरामा दुईमत रहन्न ।
तपाईंका योजना के छन् ?
-मेरो घोषणा पत्रमै मेरा कार्ययोजना स्पष्ट छन् । कसैको पक्ष, विपक्षमा नलागीकन सबैलाई समेटेर काम गर्छु । यो टिम समस्याप्रति जुध्छ । धेरै काम गर्न बाँकी छ । कर्मचारी व्यवस्थापनदेखि आगामी दिनमा अनलाइनबाट नवीकरण गर्न सकिने योजना बनाएर काम गर्नुपर्नेछ । अब व्यवसायी साथीहरूले आफ्नै पैसाले नवीकरण गरेर भोट हाल्ने वातावरण बनाउन मेरो टिमले भूमिका खेल्नेछ ।
उवासंघलाई राजनीतिक भ¥याङ बनाएर स्थानीय तहको नेतृत्व वा सांसद ताक्ने चलन छ भनेर बजारमा सुनिन्छ नि ?
-पहिलो कुरा त म विशुद्व व्यवसायीको नेता बन्न उवासंघमा आएको हुँ । अहिले म व्यवसायीकै नेता हुँ, तत्काल राजनीतिक नेता बन्दिन । तीन वर्षे कार्यकालमा व्यवसायीका समस्याप्रति खटिनेछु । यो समयसम्म म संघ, संस्थामै काम गर्नेछु । म दलीय हिसाबमा राजनीतिक नेतृत्व अहिले नै लिने भन्ने पक्षमा छैन ।
अन्त्यमा तपाईंलाई भन्न मन लागेका केही कुरा छन् ?
-व्यवसायीहरूलाई धैर्य गर्न मेरो आह्वान छ । भन्ने बित्तिकै काम नहुन पनि सक्छ । सबैबाट सकारात्मक सुझाव, सल्लाह र मार्गनिर्देशनको अपेक्षा गर्दछु । यो टिमलाई सफल बनाउनका लागि सबै व्यवसायीको सहयोगको आवश्यक छ । कुनै समस्या हुँदा फोनमार्फत पनि सुझाव र गुनासो लिन्छु । भन्नेबित्तिकै सबै ठाउँमा नपुग्न पनि सकिन्छ । तर, व्यवसायीमा आइपर्ने समस्याको न्यूनीकरणका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्छु भन्ने आत्मविश्वास छ । उद्योग वाणिज्य संघ इटहरी सबै व्यवसायीको साथमा रहेको अनुभूति दिलाउनेगरी काम गर्छु ।
Discussion about this post