इलाम : पछिल्लो १० महिनामा इलाममा दुर्घटनाबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार विभिन्न स्थानमा भएको दुर्घटनाबाट अन्य ९८ जना घाइते भएका छन् ।
सवारी चालकको लापरबाहीका कारणनै दुर्घटना बढेको हो । कहिले मापसे गरेर दुर्घटना हुने गरेको त कतै साँघुरो सडक भएकै कारण पनि दुर्घटनाबाट ज्यान गुमाउनु परेको छ । कतिपय सडक कच्ची भएकै कारण बढी लोड हुने गरेको समेत छ ।
कहाँ भयो त दुर्घटना ?
वैशाख १९ गते बिहान झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान रोङ गाउँपालिकाको बाघखोरस्थित मेची राजमार्गमा दुर्घटनामा पर्यो ।
दुर्घटनामा परि देउमाई नगरपालिका ६ का दीपेश राईको दुर्घटना स्थलमै मृत्यु भयो । सोही दुर्घटनाबाट इलाम नगरपालिका ५ का विश्वास राई गम्भीर घाइते बने ।
वैशाख १८ गते सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कँदै गरेको को २ च ४४७ नम्बरको पिक अप इलाम नगरपालिका ५ बिब्ल्याँटे नजिक दुर्घटनामा पर्दा १८ जना घाइते भए ।
केही गम्भीर घाइतेलाई थप उपचारको लागि झापाका अस्पतालमा उपचार भयो ।
वैशाख २७ गते इलामबाट जमुना जाँदै गरेको पिक अप सन्दककपुर गाउँपालिका ५ मा दुर्घटना हुँदा इलाम नगरपालिका ५ ओख्रेका २४ वर्षीय तोया घिमिरेको मृत्यु भयो।पिक अप चालक इलाम नगरपालिका ४ का २० वर्षीय अभिषेक तिवारी घाइते भए । कोरिया भाषा पढ्दै गरेका घिमिरेको सडक दुर्घटनामा ज्यान गएपछि घरपरिवार शोकमा छ ।
यी त थिए प्रतिनिधिमूलक सवारी दुर्घटना । पछिल्ला केही दिन यता इलामका विभिन्न स्थानमा साना दुर्घटना भइरहेका छन् । मेची राजमार्ग र जिल्लाका भित्री सडकमा दुर्घटना बढ्दो छ ।
चालु आर्थिक वर्षको साउन यता १३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । १० महिनाको अवधिमा ३५ वटा सवारी दुर्घटनामा ९८ जना घाइते भए। सडकको दुरावस्था, चालकको लापरबाही लगायतका कारणले दुर्घटना बढेको प्रहरीको भनाई छ । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा इलाममा सडक दुर्घटनाको अवस्था डरलाग्दो देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सडक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने एक सय १८ जना घाइते भएका छन् ।आव २०७९/०८० मा ४५ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने एक सय २० जना घाइते भएका छन् ।
मापसेका कारण बढ्यो दुर्घटना”
मापसे गरेर चालकले गाडी कुदाउँदा दुर्घटना बढेको सर्वसाधारणको गुनासो छ । चालकले मापसे गरेको भेटे पनि ट्राफिक प्रहरीले जरिवाना गरेर छाडिदिने र कच्ची सडकमा मापसे चेकजाँच नहुँदा सवारी दुर्घटना बढेको इलाम नगरपालिका ५ का कृष्ण पौडेलले बताए। बजारबाट गाउँ जाने गाडीका चालकले मापसे गर्ने गरेको गुनासो आउने गरेको छ । सरोकारवाला सबै निकाय गम्भीर बन्नुपर्ने अध्यक्ष पौडेलको भनाई छ ।
पछिल्लो समय इलाम बजार आसपास भएका साना ठुला सवारी दुर्घटनामा चालकको गम्भीर लापरबाही हुँदा पनि प्रहरीले हरेक घटनालाई ढाकछोप गरी सामान्य रूपमा लिने गरेको सर्वसाधारण बताउँछन् ।पर्याप्त जनशक्ति छैन : प्रहरी
पर्याप्त जनशक्ति नहुँदा सडक दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाई छ । सडक सञ्जाल विस्तारसँगै सवारी साधनको चाप बढेको हुँदा दुर्घटना पनि बढेको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जबेगुले बताए ।
ट्राफिक प्रहरी र आफूहरूले सीमित स्रोतका भरमा काम गर्नुपर्ने हुँदा सबै क्षेत्रमा ध्यान नपुगेको उनको तर्क छ । सरोकारवाला निकायले समेत चासो राख्नु पर्ने सचेत नागरिकको भनाई छ ।
Discussion about this post