विराटनगर । मोरङको पथरीशनिश्चरेमा मंगलबार बिहान आगलागी हुँदा ३२ लाख बराबरको क्षति भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोकका रेवतीप्रसाद सापकोटाले सञ्चालन गरेको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा बिहान ३ बजेतिर आगलागी भएको हो । सापकोटाले कर्कटपाताको छानो भएको र इँटा प्रयोग गरेर बनाइएको १ तले घरभित्र पसल सञ्चालन गर्दै आएका थिए ।
सोही पसलमा भएको आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । डीएसपी बस्नेतले अनुसन्धानपछि मात्रै घटनाका बारेमा यकिन हुने बताए ।
उनका अनुसार आगोले पसलको गल्लाभित्र रहेको २ लाख रूपैयाँ नगद जलेको जानकारी पसल सञ्चालकले गराएका छन् ।
त्यस्तै, पसल सञ्चालन गरिएको घरसहित पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको बस्नेतले बताए । घरसहित नगद र पसलका सामान जल्दा ३२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post