विराटनगर । विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले थप दुई जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो । पछिल्लो पटक पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी रहेका छन् । त्यसअघि कटहरी–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका थिए ।
प्रियंका हत्या प्रकरणको अनुसन्धान अघि बढाउने क्रममा चार जना व्यक्तिलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीेले जानकारी दिए । ‘हत्यामा संलग्न भएको आशंकामा सुरुमा रामानन्द र रमेशलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘थप अनुसन्धानपछि उमेश र श्रीरामलाई पनि पक्राउ गरियो ।’ हत्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको कार्कीले बताए ।
विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताउँदै उनले घटनाको वास्तविकता पत्ता लगाउन केही समय लाग्ने जानकारी दिए । हत्या गरी बोरामा पोको पारेर फ्यालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो । घरको आँगन जोडिएको ग्वालीमा सोमबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । नरसिंहको घरभित्र हत्या गरेपछि प्रियंकाको शव बोरामा पोको पारेर उनकै ग्वालीमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
महिलाको हत्या गरेर शव बोरामा पोको पारी फालेको सूचना आउनसाथ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली परिचालन गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको छ ।
Discussion about this post