विराटनगर । विराटनगरस्थित कोशी अस्पतालकोे प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरिएको छ ।
विवादास्पद छविका मेसु डा. चन्द्रभाल झालाई जिम्मेवारीबाट हटाएर सहप्राध्यापक डा. रविनराज सिंहलाई निमित्तको जिम्मेवारी दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार डा. झालाई पदमुक्त गर्दै डा. सिंहलाई प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त मेसु तोकेका हुन् । वरिष्ठ कन्सलटेन्ट सर्जन डा. सिंहले यसअघि पनि कोशी अस्पतालमा निमित्त मेसुको जिम्मेवारी पाएका थिए ।
सेवा प्रवाहलाई चुस्त बनाउनदेखि सरकारी अस्पताललाई उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई छोटो अवधिमै हटाएर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. झालाई २०८० असार १८ गते मेसु तोकिएको थियो । डा. सिंहले २०७९ फागुन २ गतेदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए । २०८० असार १८ सम्म अर्थात साढे ४ महिना मात्रै उनी निमित्त मेसुको भूमिकामा रहे ।
यद्यपि, उनको छोटो कार्यकालमा कोशी अस्पतालमा न्यूरो सर्जरीको जटिल प्रकारको शल्यक्रिया गरेर बिरामीको सफल उपचार भएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. सिंहको यसअघिको कार्यसम्पादन उत्कृष्ट भएका कारण उनलाई पुनः दोस्रोपटक पनि जिम्मेवारी दिइएको हो । उनी अनुभवी र स्वास्थ्य क्षेत्रका कुशल प्रशासक एवं चिकित्सक मानिन्छन् ।
डा. सिंहले बिहीबार पदभार ग्रहण गरेका छन् । उनले समग्र अस्पतालको सुधार गर्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाएर लैजाने प्रतिबद्धता जनाए । ‘मेरो कार्यकालमा सरकारी अस्पताललाई सबै हिसाबले उकास्ने प्रयत्न हुने छ,’ डा. सिंहले भने, ‘सेवा प्रवाह चुस्त बनाउँदै उपचारमा सबैको पहुँच पु¥याउन भूमिका खेल्ने छु ।’ अब कोशी अस्पतालमा गरिब र विपन्न वर्गले सहज उपचार पाउने वातावरण बन्ने उनले बताए ।
मेसुको जिम्मेवारीबाट हटाउँदै डा. झालाई भने वीरगन्जको नारायणी अस्पताल सरुवा गरिएको छ । मेसुको जिम्मेवारीमा रहँदा डा. झा विभिन्न विवादमा मुछिए । डा. फरवार्ड सिलवाल नेतृत्वको अस्पताल विकास समितिसँग साँठगाँठ गरेर विभिन्न अनियमितता गरेको आरोप उनीमाथि लागेको छ ।
सरकारी अस्पतालका भवनहरु प्रक्रिया पूरा नगरिकन बिना टेण्डर भत्काउनेदेखि निर्माण सामग्री गायब बनाएको आरोप डा.झालाई लागेको हो । कानुनविपरीत भवनहरु भत्काएर अस्पतालभित्रको माटो अनाधिकृत हिसाबले बेचेको लगायतका विवादमा उनी मुछिएका छन् । डा. झाका पालामा कानुन मिचेर गरिएका काम कारबाहीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान गरिरहेको छ ।
अर्कोतर्फ उनका पालामा कर्मचारी नियुक्तिका विवादास्पद निर्णयहरु भएका छन् । विकास समिति अध्यक्ष डा. सिलवाल र मेसु झाको मिलेमतोमा अस्पतालमा आफन्त, नातागोता र नजिककाले नियुक्ति पाएका छन् । सरकारी अस्पताललाई सिध्याउन अनेक चलखेल गरेको भन्दै डा. सिलवाल र झाको आलोचना हुने गरेको छ ।
पछिल्लो समय अस्पतालको सेवा प्रवाह एकदमै कमजोर बनेर गएको छ । पहुँच नहुने, गरिब र निमुखाले सहज उपचार पाउन सकिरहेका छैनन् । अस्पतालको सेवालाई प्रभावकारी बनाउनेभन्दा पनि सिलवाल र झा व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको आरोप कर्मचारी एवं चिकित्सकले लगाउने गरेका छन् ।
Discussion about this post