इटहरी । सुनसरीको इटहरी उपमहानगरभित्र संचालनमा रहेका दुईवटा सहकारी संस्थाका संचालकहरु फरार भएपछि वचतकर्ताको लाखौं रुपैंयाँ डुब्ने खतरा देखिएको छ ।
संचालक नै फरार भएपछि वचतकर्ताहरु विचल्लीमा परेका छन् । इटहरीमा रहेको कलश बचत तथा ऋण सहकारी सस्था र हलेसी बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकहरू फरार भएपछि बचतकर्ताहरूको बिचल्ली भएको हो ।
कलश बचत तथा ऋण सहकारी सस्थाको झण्डै २० लाख र हलेसी बचतको ५० लाख बढी अपचलन गरेर सञ्चालकहरू फरार भएपछि बचतकर्ताहरु पैसा फिर्ताको माग गर्दै स्थानीय सरकारलाई गुहार मागेका छ्न।
उनीहरुले उपमहानगरको सहकारी शाखामार्फत संचालकलाई कारवाही गर्न र वचत फिर्ता गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।
इटहरीमा कपडा पसल सञ्चालन गरिरहेका सागर विश्वासले दैनिक दुई सय देखि पाँचसय रुपैयाँ बचत गरेको पैसा फिर्ता नपाएको तीन बर्ष भएको गुनासो गरे । ‘तीन बर्षदेखि पैसा अड्किएको छ ।
पैसा फिर्ता आउँछ भन्ने आशा एकदमै कम छ,’ विश्वासले भने । पसल गरेर कमाएको पैसा सहकारी सञ्चालकले नदिएपछि आफू समस्यामा परेको उनले बताए ।
यस्तै धनकुटा घर भई इटहरीमा दैनिक ज्याला मजदुरी गर्दै आएकी गीता थापाले जम्मा गरेको पैसा पनि फिर्ता नपाएको बताइन ।
‘कमाएको पैसा अप्ठ्यारो पर्दा चाहिन्छ र काम लाग्छ भनेर वचत गरेको थिए । मैंले ३४ हजार बचत गरेको र करीब एक बर्षअघि चार हजार रुपैयाँ मात्र फिर्ता पाएको छु, अरु पैसा पाउन सकेको छैन,’ उनले भनिन ।
यसैगरी तरकारी बेचेर कमाएको पैसा इटहरीको हलेसी बचतमा बचत गरेकी विना दाहालको पनि समस्या उस्तै छ । प्रत्येक हाट बजारमा धाएर कमाएको पैसा अड्किएको छ । धेरै पटक पैसा माग्दा समेत पूरा पैसा दिएका छैनन्,’ उनले भनिन । पटक-पटक धाउँदा समेत आफुले पैसा नपाएको उनको गुनासो छ ।
इटहरी उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले दुवै सहकारीका सञ्चालकहरुलाई पटक- पटक पैसाको ताकेता गर्दा समेत पैसा फिर्ता नआएपछि कारवाहीक लागि प्रहरीलाई फाइल बुझाएको बताए ।
‘हामीले पटक पटक सहकारीका सञ्चालकहरुलाई सम्पर्कमा आउन आह्वान गर्यौं । तर उहाँहरु आउनुभएन । कारवाहीको प्रकृया अघि बढाउन लेखेर पठाएका हौं,’ प्रमुख पोखरेलले भने ।
कलस सहकारीको अध्यक्ष मीन बहादुर तामाङ्ग बाहेक अन्य कोही संचालक नभेटिएकाले गर्दा कति रकम जोखिममा परेको भन्ने यकिन नभएपनी हलेसी सहकारीमा भने ५० लाख भन्दा धेरै बचत जोखिममा परेको प्रमुख पोखरेलको भनाइ छ ।
हलेसी सहकारीका सस्थाका अध्यक्षसहित कार्यसमितिका सबैजना विरुद्ध कारवाहीको प्रकृया सुरु गरिएको छ उपमहानगरले जनाएको छ । हलेसी सहकारी अध्यक्ष धरान १६ निवासी मनिता श्रेष्ठ, इनरुवाका रोबिन कुमार राई, इनरुवाकै सुवास कार्की, धनुषाको ढल्केबरका भोजबहादुर खडका, दोलखाका दिपेन्द्र खडका, इटहरी १८ की कोपिलाकुमारी खडका, मैया बस्नेत र इनरुवाकी भोजकुमारी खत्री र उदयपुरका चेवन कार्की रहेका छन् ।
सहकारी शाखा इटहरी उपमहानगरपालिकाको पत्र प्राप्त भएपछि कारवाहीको प्रकृया अघि वढाइएको इलाका प्रहरी कार्यलय इटहरीका इन्सपेक्टर शम्भु बस्नेतले बताए ।
‘हामीले सहकारीको रकम हिनामिना मुद्दामा सहकारी सञ्चालकहरु विरुद्द कारवाही प्रकृयाअघि बढाएका छौ । बतचकर्ताहरुलाई वचत पासबुकसहित उजुरी दिन आह्वान गरेका छौ,’ इन्सपेक्टर बस्नेतले भने । दुवै सहकारीका सञ्चालकहरु फरार रहेको र खोजी कार्य जारी रहेको समेत बस्नेतले बताए ।
Discussion about this post