बिराटनगर । मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान सहित घटनामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
विराटनगर १९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न उनका श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी टीकाबहादुर कार्कीका अनुसार घटनामा संलग्नहरूमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ वर्षीय श्रीराम चौधरी र २९ वर्षीय रमेश साह रहेका छन् ।
बूढीगंगा २ का स्थानीय नरसिंह चौधरीको ग्वालीमा सोमबार हत्या गरी बोरामा पोको पारेर राखेको अवस्थामा प्रियंकाको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रियंकाले परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको आशंकामा हत्या गरेका हुन् ।
प्रहरीका अनुसार प्रियंकाका पति रमेशको विराटनगर–१९ मिलनचोकमा सुन पसल छ । ‘भारत बिहारको खोजुली माइत भएकी प्रियंकासँग रमेशको मागी बिहे भएको रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनीहरुका ८ वर्षका छोरा र ६ वर्षकी छोरी गरेर दुई जना सन्तान रहेछन् ।’ उनका अनुसार परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले बारम्बार प्रियंकासँग झगडा गर्ने गरेका रहेछन् ।
पक्राउ परेकामध्ये उमेशले भने प्रियंकालाई आफ्नो गाडीमा राखेर आइतबार बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको घरमा पु¥याएको डीएसपी कार्कीले बताएका छन् ।
Discussion about this post