काठमाडौँ । अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पतीले काठमाडौँको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्ति माग गरेका छन्।
मोरङका गौरभ दर्पण र गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारका क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलबार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति माग गरेका हुन्।
सामान्य रुघाखोकी लागेपछि प्रशंसालाई माघ २३ गते उक्त अस्पतालमा लगेको उनीहरूको भनाइ छ। उपचारका क्रममा डाक्टर यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा रिफर लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्ट्याम्प समेत नभएको, अस्पतालले मेडिकल रेकर्ड नदिएर छोरीको ज्यान गएको उनीहरूको आरोप छ।
महाराजगन्जस्थित मेट्रो अस्पताल पुर्याएको दुई घण्टा पनि नबित्दै प्रशंसाको मृत्यु भएको थियो। हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा बताउँछन्।उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताइन्। गौतम दम्पतीले छोरीको उपचारमा संलग्न चिकित्सकको लाइसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन्। पत्रकार सम्मेलनमा गंगाले भनिन्, ‘डाक्टरको लापरबाहीका कारण छोरीको मृत्यु भयो। अरू बच्चाहरूलाई उसले के गर्यो होला ? यो डाक्टरको योग्यतामाथि छानबिन हुनुपर्छ कि पर्दैन ? हामीलाई क्षतिपूर्ति चाहियो।’
उजुरीको बोधार्थ नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर टेकु र हिमाल अस्पताललाई पनि दिइएको छ। प्रशंसाका पिता गौरभ दर्पणले भने, ‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानबिन गरी कारबाही गरियोस्।’ प्रशंसाको १३ औँ पुण्यतिथि सकिएपछि पीडितले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन्। गौरभले छोरीको मृत्युपछि बिलौना गर्दै भनेका छन्, ‘अब म के गरौँ ? कोसँग लडौँ ? मसँग को उभिन्छरु देश कि नागरिक’?
विज्ञप्तिको पूर्ण पाठ
दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काइन्छ। त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किनरु हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतीमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ रु कि नेपालमा बेचिने औषधिमा खराबी छरु कि डाक्टरको योग्यतामा कमजोरी छरु बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन ?
छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधि लगेर खुवाइयो। २।३ दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा। जयदेव यादव (एन.एम.सी नं १०८४५० लाई देखायौँ । अगाडि खुवाई रहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि।
‘भाइरल ज्वरो हो, म दबाई लेखिदिन्छु, खुवाएर हेर्नुस् अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए। छोरीलाई उनले दिए अनुसार दबाई र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्यौँ, तर सुधार देखिएन। अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन्, फेरि भोलिपल्टै लिएर गयौँ र उनै डाक्टरलाई देखायौं, ‘औषधिले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रसस्त खुवाउनुस्’ भने। मलाई डर लागेर ‘कि केही अरू जाँचहरू गराएर हेर्नुपर्छ कि ?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भनेपछि हामीले पनि त्यही गर्यौँ।
त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन घ्यारघ्यार बढ्न थाल्यो। दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियो समेत खिचेर लगेर डाक्टरलाई देखायौँ। डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन बिरामीलाई यही देख्खिरहेको छ।’ उक्त कुरालाई खासै महत्व दिएनन्। बिहान बेलुका दुई पटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौँ। बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौँ’ भनेर सोधेँ । डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने। बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा ईमर्जेन्सीका नर्सहरूले ‘नानी सिथिल छिन् त’ भन्दै थिए। तर डाक्टरलाई रिपोर्ट गरेनन् होला।सोही दिन बेलुका ५.३० मा फेरि छोरीलाई लिएर गयौँ, बाफ लगायौँ र डा. को क्याबिनमा लिएर गयौँ। छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौँ। सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ। तर डाक्टर फेरि पनि ‘आत्तिनु पर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स९रे हेरौँ अनि रगतको जाँच पनि गरौँला’ भनेर लेखिदिए।
हामी एक्सरे गराउन गयौँ र लिएर आयौँ, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन ९अक्सिजन० जाँचियो र भर्ना प्रकृया सुरु गरियो। अक्सिजन लेबल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, एक्ष्ऋग् भएको हेम्स अस्पतालमा पठाइदिन्छौँ’ भने। त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने।
त्यसपछि डा.जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ति बाल अस्पताललाई मैले कुरा गरेँ, बेड खाली छ, लेटर लेखिदिन्छु सिधै इमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु।’ हामी अत्ताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ । जब बिरामीलाई गाडीमा सार्न लाग्यौं डा. जयदेव यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस् अरू कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड ९प्रेसक्रिप्सन० नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डा। को आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ।
त्यसपछि अक्सिजन जोडीजोडी नै नानीलाई कान्ती बाल अस्पताल पुर्यायौँ । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन फेरि त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन भनेर नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै एक्ष्ऋग् भएको अर्को अस्पताल लैजान सुझाव दिए। हामीले खोजी गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौँ। मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन्।
तर त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकोले सीधै सघन उपचार कक्षमा हालियो। उता छोरीको उपचार सुरुभयो यता हामी अन्य कागजी प्रकृया मिलाउन थाल्यौँ। लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ। छोरी हेर्न सकिने अवस्था मै थिइनन्। हाम्रो काख र अँगालो रित्तिईसकेको थियो। बाँकी कुरा हजुरहरूलाई अवगत भइसक्यो।
Discussion about this post