विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सोमबार साँझ बसेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ ।
बैठकले ३ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य छन् । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहने छन् ।
टोलीले प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरलगायत राजनीतिक रूपमा असन्तुष्ट रहेका पक्षहरुसँग वार्ता गरेर समस्याको समाधान खोज्ने बताइएको छ ।
राजनीतिक, आर्थिक र सामाजिक तथा पहिचानका सम्बन्धमा देखा परेका समस्याको समाधान वार्ता र संवादबाटै शान्तिपूर्ण रूपमा गर्ने उदेश्य अनुरुप वार्ता समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यहरु मनोनयन गरेको छ ।
आयोगको सदस्यमा काठमाडौंका डा. सीताराम बस्नेत, सोलुखुम्बु (हाल धरान)का किशोरकुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेलाई मनोनित गरिएको अधिकारीले बताए । बस्नेत र राई एमाले तथा बराल र न्यौपाने माओवादीमा आवद्ध छन् ।
आयोगको उपाध्यक्षमा यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् । सदस्य मनोनित भएसँगै पूर्णता पाएको आयोग अब ५ सदस्यीय भएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी प्रदेशसभा सदस्य राजन किराँती र सम्झना तामाङको क्यानडाको वैदेशिक भ्रमणलाई स्वीकृत गर्ने तथा कूटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
Discussion about this post