विराटनगर । सत्तारुढ नेकपा (एमाले)ले विराटनगरको मानगढ खानेपानी आयोजनामा नांगो हस्तक्षेप गरेको छ । विराटनगर महानगरपालिका–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गतको आयोजना राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बन्दै गएको छ ।
उपभोक्ता समितिको नेतृत्वमा जसरी पनि आफूनिकटलाई ल्याउन अनेक हतकण्डा अपनाएको एमालेले राजनीतिक सरोकार नै नभएको खानेपानी आयोजनामा सीमा नाघेर तल्लोस्तरको हस्तक्षेप गरेको हो ।
समितिको नेतृत्व हत्याउन नेपाली कांग्रेसले पनि खुलेआम हस्ताक्षेप गरेको छ । खानेपानी आयोजनाजस्तो सामाजिक संस्थामा कांग्रेसको तुलनामा एमालेले अलि बढी नै हस्तक्षेप गरेको छ । जसका कारण आयोजनाको भविष्य अनिश्चित बनेको छ ।
खानेपानीको नेतृत्व हत्याउन विभिन्न हर्कतहरु गरिएका छन् । राजनीतिक हिसाबले भोलिका दिनमा निक्कै संकट पर्ने गरी नेताहरुले खानेपानी आयोजनामा हात हालेका हुन् ।
मानगढ विराटनगरको सबैभन्दा ठूलो खानेपानी आयोजना हो । राजनीतिक हस्तक्षेपको कोपभाजनमा पर्दा अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ । आयोजनालाई धराशायी बनाउन राजनीतिक हस्तक्षेपका नाममा घृणित खेलहरु भएका छन् । उपभोक्ता समितिको नेतृत्व हत्याउने दाउपेचमा लागेर नेताहरुले नांगो हस्तक्षेप गर्दै अचाक्ली गरेर आयोजनालाई अनिर्णयको बन्दी बनाएको गुनासो उपभोक्ताको छ ।
मानगढ खानेपानी आयोजना उपभोक्ताको २० प्रतिशत लगानीसहित जापान सरकारको सहयोगमा २०५४ सालमा निर्माण सुरु गरेर २०६३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको थियो । २०६३ देखि औपचारिक हिसाबले उपभोक्तालाई पानी वितरण सुरु गरिएको आयोजनाबाट हाल ५ हजार ९ सय घरधुरी लाभान्वित छन् ।
आयोजनामा सुरुदेखि नै रामबहादुर घिमिरे उपभोक्ता समितिका अध्यक्ष छन् । पाँचौं कार्यकालका लागि निर्वाचनमार्फत २०७४ जेठदेखि घिमिरे अध्यक्ष बनेका थिए । पछि घिमिरे नेतृत्वको समितिको म्याद १ वर्ष थपियो । तर, थपिएको म्याद सकिएपछि पनि अध्यक्षकै हैसियतमा उनले काम गरिरहे । कार्यकाल सकिएर कामचलाउ भइसकेको समितिले आयोजनालाई दीर्घकालीन असर पर्ने निर्णयहरु गरेको थियो ।
पछिल्लो समय फोहोर र लेदोसहितको पानी उपभोक्ताको घरमा पुग्ने गरेको गुनासो व्याप्त छ । समस्या समाधानका लागि समितिले चासो दिएन । अध्यक्ष घिमिरेमाथि आयोजनामा अनियमितता गरेको आरोप लागेको छ । सामग्री र जग्गा खरिददेखि कर्मचारी नियुक्ति तथा पदाधिकारीको पारिश्रमिकमा अनियमितता गरेको तथा खानेपानी आयोजनालाई आफन्त एवं नातेदार भर्ती केन्द्र बनाएको आरोप उनीमाथि लागेको हो ।
कार्यकाल सकिएपछि समिति पुनर्गठन गरेर आयोजनाको प्रयोजनका लागि भनेर विराटनगर–३ मा २०८० असारमा २६ धुर जग्गा ८४ लाख रूपैयाँमा खरिद गरेको देखाइएको छ । लालपूर्जामा २६ धुर देखाइएको जग्गा फिल्डमा भने १०/११ धुर मात्रै रहेको उपभोक्ता एवं २०७४ सालमा सचिव निर्वाचित भएका लीलाप्रसाद काफ्ले बताउँछन् ।
‘खरिद गरिएको जग्गा त्यसअघि ४१ लाखमा बिक्री गर्न जग्गाधनी तयार थिए । तर, खानेपानी आयोजनाले बिचौलियासँग साँठगाँठ गरेर ८४ लाख मूल्य कायम गरेको पाइयो,’ उनी भन्छन्, ‘पास खर्चसहित गर्दा ८७ लाख २५ हजार रूपैयाँ पुगेको छ । जग्गा खरिदका नाममा दोब्बर बढी मूल्य देखाएर लाखौं रूपैयाँ भ्रष्टाचार गरिएको छ ।’ आयोजनामा अनआवश्यक कर्मचारीको दरबन्दी सिर्जना गरेर त्यसवापतको तलब र भत्ता कार्यसमितिमा रहेकाले बाँडेर खाने गरेको काफ्ले बताउँछन् ।
यस्तो छ राजनीतिक हस्तक्षेपको नालीबेली
आयोजनाको उपभोक्ता समितिमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी हुँदै गर्दा मानगढमा राजनीतिले प्रवेश पाएको हो । जुनसुकै हतकण्डा अपनाएर भए पनि आफू पुनः अध्यक्ष हुन खोज्ने घिमिरे एमालेका केही नेताहरुलाई आफ्नो प्रभावमा पार्न सफल भए । एमाले मोरङको नेतृत्वले पनि घिमिरेलाई अध्यक्ष, एमाले विराटनगर–३ का वडाध्यक्ष लालमणि भट्टराईलाई उपाध्यक्ष वा सचिव बनाउने तयारी गरेको थियो । तर, पार्टीको एउटा पंक्ति अनेक विवादमा मुछिएका घिमिरेको विपक्षमा देखियो ।
आमउपभोक्ता पनि घिमिरेको पक्षमा देखिएनन् । खुलेआम विरोधमा उत्रिए । त्यसपछि भट्टराईले अध्यक्षमा उम्मेदवारी दिए । एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालगायतका नेता कार्यकर्ता भट्टराईको पक्षमा खुलेर लागे । पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएको भनेर एमाले जिल्ला नेतृत्वले भट्टराईसहित उनको प्रचारप्रसारमा हिँड्नेलाई कारबाहीको चेतावनी दियो । आफ्नो निर्णयबाट फिर्ता हुन निर्देशन दिए पनि भट्टराईले मानेनन् ।
पार्टीको निर्णय उल्लंघन गरेको भन्दै छानबिन र आवश्यक कारबाहीका लागि भनेर एमालेले जिल्ला कमिटी उपसचिव शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत रहेको ३ सदस्यीय समिति बनायो ।
बस्नेत हाल विराटनगर–३ का वडाध्यक्ष छन् । समिति संयोजक लिम्बू र सदस्य थापा मानगढ खानेपानीसँग सरोकार नै नभएका व्यक्तिहरु हुन् । न त उनीहरु मानगढका उपभोक्ता नै थिए । खानेपानीसँग सरोकार नै नभएका व्यक्ति सम्मिलित छानबिन समिति गठन गरेपछि एमालेको भूमिका झन् विवादित बन्यो ।
यता नेपाली कांग्रेसले पनि लेटर प्याडमै अध्यक्ष तथा पदाधिकारी तथा सदस्यको नाम तोकेर उम्मेदवार सिफारिस गर्यो । कांग्रेसले दुर्गा चापागाईंलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । चुनावमा स्थापना कालदेखिका अध्यक्ष घिमिरेसहित भट्टराई र चापागाईंले प्यानल नै बनाएर अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि जेठ १९ गते मोर्डन एरा स्कुलमा मतदान भयो । बिहान ८ बजेबाट थाल्ने भनिएको मतदान ११ बजेदेखि मात्रै सुरु भयो । ‘मतदान केन्द्रमा ५ हजार ९ सय मतदाताका लागि १०/१२ वटा बुथ हुनुपर्ने माग गरिएको थियो । ६ वटा बुथमा मात्रै निर्वाचन गराइयो,’ स्रोतले भन्यो, ‘व्यवस्थित मतदान हुन सकेन । मतदानमा ढिलासुस्ती भयो ।’
३ हजार ३ सयजति मत खसेपछि साँझ ६ बजेतिर विवाद सुरु भयो । त्यसपछि निर्वाचन प्रक्रिया अवरुद्ध हुँदा हातहातमा मतपत्र लिएर बसेका मतदाताले मतदान गर्न पाएनन् । विवाद बढेसँगै निर्वाचन समितिले बाँकी रहेको मतदान प्रक्रिया जेठ २० गते बिहानबाट अघि बढाउने सूचना प्रकाशित गरेको थियो । तर, २० गते बिहानै निर्वाचन समितिले राजीनामा दिएपछि अहिलेसम्म मतदानको प्रक्रिया अघि बढेको छैन ।
उपभोक्ता समितिको मतदान प्रक्रियाको विवाद हाल उच्च अदालत विराटनगरमा पुगेको छ । टंकप्रसाद खतिवडासमेतका उपभोक्ताले जेठ २४ गते पुनः निर्वाचनको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले मतपेटीकालाई सुरक्षित राख्न आदेश जारी गर्दै असार ३ गते सोमबारलाई पुनः अर्को पेसी तोकेको छ । यद्यपि, त्यो दिन सार्वजनिक बिदा परेको छ ।
यता अध्यक्षका उम्मेदवार भट्टराई पक्षधरले झरेको मतलाई कायम गरेर मतगणना गर्नुपर्ने माग राख्दै बिहीबार उच्च अदालतमै रिट दायर गरेका छन् । रिटमाथि सुनुवाइ गर्दै उच्चले अहिले दीर्घकालीन महत्वको निर्णय नगर्नु/नगराउनु भनेर आदेश गरेको छ । चुनावमार्फत नयाँ समिति बन्ने हुँदा घिमिरे नेतृत्वको तदर्थ समितिलाई दीर्घकालीन निर्णय नगर्न उच्चले भनेको हो । मतपेटिका सिलबन्दी गरी स्थानीय प्रशासनले सुरक्षामा राखिएको छ ।
राजनीतिक रडाकोका कारण चुनाव नै २ वर्षपछि धकेलिएको थियो । ‘कांग्रेसले हिजो नेतृत्व हत्याउन दाउ खोजेको थियो । एमालेभित्र विवाद भएर अध्यक्षका दुई जना उम्मेदवार बनेपछि आफ्नो नेतृत्व स्थापित हुने विश्वास कांग्रेसको थियो,’ स्रोतले भन्यो, ‘तर, परिस्थिति आफूअनुकूल हुने नदेखेपछि विवाद झिकेर कांग्रेसले अर्को चुनाव हुनुपर्छभन्ने माग गरिरहेको छ । यता घिमिरे भने सबैलाई अलमलाएर आफैंले खानेपानी आयोजना चलाउन खोजिरहेका छन् ।’
खानेपानी आयोजनामा अनियमिता गरेको आरोप लागेका अध्यक्ष घिमिरेलाई सत्तारुढ एमालेको जिल्ला नेतृत्वले साथ दिएपछि पार्टीभित्र विवाद बढेको थियो । त्यसको विरोधमा एमालेका समर्थक एवं कार्यकर्ता तहबाट भट्टराईलाई वैकल्पिक उम्मेदवार उठाइयो ।
एमालेले गर्यो कारबाही
खानेपानीको चुनावमा खुलेआम हस्तक्षेप गरेको एमालेको जिल्ला नेतृत्वले पार्टीका विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहितलाई कारबाही गरेको छ । एमालेको जिल्ला नेतृत्वले अघि सारेका उम्मेदवारलाई असहयोग गरेको भन्दै खानेपानीको निर्वाचन प्रक्रिया अवरुद्ध रहेका बेला थापालाई पार्टीबाट निष्कासन गरिएको हो ।
उनीसँगै पार्टीको महानगर कमिटीका निवर्तमान उपसचिव नवराज नेपाल र खानेपानीको अध्यक्षमा उम्मेदवारी दिएका एमाले विराटनगर–३ का वडाध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यसमेत नरहने गरी गत शुक्रबार निलम्बन गरिएको छ ।
एमाले मोरङका जिल्ला सदस्य मुकेश बुढाथोकी, महानगर सदस्य सुरज न्यौपाने र सन्दीप पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । निष्कासन गरिएको र स्पष्टीकरण सोधिएको पत्रमा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले हस्ताक्षर गरेका छन् ।
निष्कासनमा परेकाहरुले पार्टीको जिल्ला नेतृत्वले खानेपानीको नेतृत्व चयनमा भूमिका खेलेकै आधारमा कारबाही गर्नु पार्टीको विधानविपरीत हुने बताएका छन् । ‘अमुक नेताको व्यक्तिगत कुण्ठा पूरा गर्न कारबाहीका नाममा पदको दुरुपयोग गरियो,’ थापाले भने, ‘यो अनुचित निर्णय २४ घण्टाभित्र फिर्ता हुनुपर्छ ।’
थापा २०७९ सालमा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार थिए । अध्यक्ष थापालगायत निष्कासनमा परेपछि पार्टीसँग असम्बन्धित विषयलाई जोडेर कारबाही गरिएको भन्दै एमालेको चौतर्फी आलोचना भइरहेको छ ।
कारबाहीमा परेकाहरु र खानेपानीका उपभोक्तासमेत रहेका एमाले समर्थकहरुले २४ घण्टाभित्र कारबाही फिर्ता लिन आग्रह गरेर एमाले मोरङका अध्यक्ष कार्कीलाई शनिबार ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले पार्टीको आधिकारिक निर्णयसमेत नभएको अवस्थामा कामचलाउ समितिका अध्यक्ष कार्कीले कारबाहीको चिट्ठी दिएको भनेर आक्रोस व्यक्त गरेका छन् । खानेपानीको विषयमा पार्टीको निर्णय नमान्नेलाई छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही गरिएको दाबी अध्यक्ष कार्कीको छ ।
Discussion about this post