सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाँउपालिकाका प्रवक्ता समेत रहेका ४ नम्बर वडाध्यक्ष हारुन अन्सारीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता पदबाट राजीनामा दिएसँगै अध्यक्ष र वडाध्यक्षबीच बिवाद छताछुल्ल भएको छ ।
उनले अध्यक्ष अख्तरआजाद र प्रमुख प्रशासकीय अधिकृतलाई राजीनामा बुझाएका छन् ।भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अजमल अख्तर आजाद बिजयी भएका थिए । चुनावमा एउटै पार्टीको तर्फबाट टिकट पाएर चुनाव जितेर आए पनि गाउँपालिका अध्यक्ष र निर्वाचित केही वडाध्यक्षहरूबीच यतिबेला दूरी बढेको छ ।
प्रवक्ताको जिम्मेवारी दिए पनि भूमिका नदिएपछि राजीनामा दिएको वडाध्यक्ष अन्सारीको आरोप छ । कार्यपालिकाले आफूलाई प्रवक्ता पदमा मनोनयन गरेको नौ महिना बितिसक्दा पनि हालसम्म कार्यपालिकाकोकुनै पनि निर्णय सूचना र प्रगति विवरण आधिकारिक तवरबाट बाहिर ल्याउन नदिई गोप्य तवरबाट गर्दै आएको अन्सारीको राजीनामा पत्रमा उल्लेख छ ।
साथै उनले अध्यक्ष आजाद सीमित व्यक्तिको इसारामा चलेको आरोप लगाएका छन । काङ्ग्रेस पार्टीबाट दुवैजनाले टिकट पाएर जितेको स्मरण गराउँदै वडाध्यक्ष अन्सारीले गाउँपालिका अध्यक्ष आजाद र आफूबीच व्यक्तिगत रूपमा कुनै किसिमको मतभेद नभएको बताए । ‘
आफू कार्यपालिकाको सदस्य भए पनि निर्णय सार्वजनिक गर्न नदिएको उनको दाबी छ । यता अध्यक्ष आजादले प्रवक्ता अन्सारीले पूर्व जानकारीविना अचानक राजीनामा दिनु सान्दर्भिक नभएको बताए । उनले वडाध्यक्ष अन्सारीले लगाएका आरोपमा सत्यता नभएको दाबी गरेका छन । उनले आफू निर्वाचित भएर आएपछि हरेक कुरा पारदर्शी गर्दै आएको बताए । अध्यक्ष आजादले आफू र आफ्नो परिवारलाई बदनाम गराउन राजनीतिक षड्यन्त्र भइरहेकोे दाबी गरे ।
Discussion about this post