काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो। जसमा ३३ पुरुष र २५ महिला,२५ बालबालिका रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए।
घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन्। घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन्।
मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए। उक्त घटनामा १० करोड ७० लाख ४० हजार नौ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
Discussion about this post