इलाम / सूर्योदय नगरपालिकाको वर्षे अधिवेशन सम्पन्न भएको छ । गत वैशाख ७ मा सुरु १५औं अधिवेशन मंगलबार सम्पन्न भएको हो । मंगलबार बसेको अधिवेशनको छैटौं बैठकले स्थानीय वनको प्रवर्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१, नगर सडक यातायात गुरुयोजना पुनरावलोकनसम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र विपद् उत्थानशील योजना पारित गरेको नगर प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए ।
नगरसभाको वर्षे अधिवेशनबाट नीति कार्यक्रम, आगामी वर्षको बार्षिक बजेट, न्यायिक समितिले उजुरीको कारबाही, किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ र सूर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ समेत पारित गरेको छ ।
नगरसभाको अधिवेशन अन्त्य गर्दै नगर प्रमुख रणबहादुर राईले नगरको विकासका लागि पहल र साझेदारी गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले सूर्योदय नगरपालिका अन्य पालिकाहरूका लागि सिकाइको थलो बन्दै गएकाले नमुना नगर बन्नेगरी काम गर्न जनप्रतिनिधि र कर्मचारीको ध्यानाकर्षण गरे ।
अधिवेशनले सूर्योदय नगरपालिकाको आगामी वर्षका लागि एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।
चालु वर्ष ८८ प्रतिशत खर्च
चालु आर्थिक वर्षको समाप्तिसँगै सूर्योदय नगरपालिकाले कुल वार्षिक बजेटको ८८.३८ प्रतिशत खर्च गरेको छ । कुल एक अर्ब नौ करोड ५८ लाख ७५ हजार सात सय ८१ रुपैयाँको वार्षिक बजेटमध्ये ९६ करोड ८५ लाख ६८ हजार ५९४.२४ खर्च गरेको हो ।
चालु खर्चका लागि ६९ करोड ८३ लाख ७५ हजार एक सय ७० रुपैयाँ विनियोजितमध्ये। ६१ करोड ६० लाख ७८ हजार नौ सय ८९ अर्थात् ८८.२२ प्रतिशत खर्च भएको छ ।
पुँजीगत खर्चका लागि ३९ करोड ७५ लाख सात सय ६४ रुपैयाँ विनियोजिमध्ये ३५ करोड २४ लाख ८९ हजार अर्थात् ८८.६८ प्रतिशत खर्च भएको छ । यस वर्षको बजेट गत असार २०८० को १३औं अधिवेशनबाट पारित भएको हो ।
Discussion about this post