इटहरी : धरान उपमहानगरपालिकाको नगरसभा बैठक नबस्दा मङ्गलवार देखी बजेट शून्यतामा गएको छ । नगरसभाले आर्थिक वर्ष २०८१।८२ को बजेट पास नगरेपछि मङ्गलवारबाट धरान उपमहानगरको बजेट शून्यतामा गएको हो ।
धरानका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार नगरसभाबाट बजेट पास नहुँदा खर्च गर्न समस्या भएको जानकारी दिए । आतपकालीनबाहेक अन्य खर्च गर्न समस्या भएको उनको भनाइ छ । पालिकाले दिने सेवा गत वर्षकै शुल्क र दस्तुरका आधारमा सञ्चालन भइरहेको राईले बताए ।
‘यसका लागि हामी कार्यविधि बनाउने तयारी गरिरहेका छौँ । कार्यविधि बनाएर गत सालकै शुल्क र दस्तुर लिएर सेवा दिइरहेका छौ,’ उनले भने । खासगरी धरानमा मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यबिचको विवादका कारण धरानले बजेट ल्याउन नसकेको हो । असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पास गर्नुपर्ने व्यवस्था भएपनि मेयर साम्पाङ र नगरसभा सदस्यबिचको टकराबले धरानमा बजेट पास नगर्दा शून्यता आएको हो ।
कोशी प्रदेश सरकारले २०८० साल पुस २२ गते स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पास गरेको थियो । सो ऐनको दफा नम्बर १३ मा पद पूर्तिमा बन्देज गर्ने व्यवस्था गरेको छ । पछिल्लो पटक सोही ऐन देखाउँदै मेयर साम्पाङ्गले करारमा रहेका प्रशासनिक र प्राविधिक कर्मचारीको करार सम्झौता थप नगर्ने अडान लिएका थिए । तर, दलका जनप्रतिनिधिहरूले भने करार कर्मचारी सबैको एकमुष्ट करार सम्झौता थप गर्नुपर्ने अडान लिएसँगै विवाद सुरु भएको थियो ।
मेयरको संयोजकत्वमा रहेको बजेट सीमा निर्धारण समितिले बजेटको सीमा नदिएका कारण बजेट बन्न सकेको थिएन । पछिल्लो समय बजेटका विषयमा भने सहमति भएको थियो । धरानमा एक अर्ब ७९ करोड रुपैयाँको बजेट कार्यपालिका बैठकबाट पास गरेको थियो । बजेटको ब्रेक डाउनसमेत सम्पन्न भएर कार्यपालिकाबाट बजेट पास गरिएको धरान उपमहानगरले जनाएको छ ।
धरानमा यसअघि कार्यपालिका बैठकदेखि अरू कामहरू समेत मेयर र कार्यपालिका तथा नगरसभा सदस्यहरूबिचको टकराबले विकासका योजना प्रभावित हुँदै आएको छ ।
Discussion about this post