खोटाङ : यो वर्ष खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन भएको छ। गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो।
१० स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ। यो वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २०.५० मेट्रिक टन लिची उत्पादन भएको छ। जन्तेढुङ्गा गाउँपालिकामा ९ मेट्रिक टन, बाराहापोखरीमा ०.५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८.५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा ०.५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लामा उत्पादित लिची स्थानीय हाटबजार तथा काठमाडौंलगायत शहरमा बिक्री हुने गरेको छ। जिल्लामा उत्पादिन लिची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ। आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ। जिल्लामा उत्पादित लिचीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका-१ कुभिण्डेका उद्यमी रामबहादुर राईले बताए।
लिची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिचीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ। एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकालेकिसान पनि लिचीको व्यावसायिक खेतीमा आकर्षित भएका हुन्।
Discussion about this post