इटहरी : नेपाली कांग्रेसमा कोइराला परिवारभित्रै यसअघि मतभिन्न रहेपनि एकजुट गराउने प्रयास सुरु भएको छ । दाजुबहिनी रहेका डा. शेखर कोइराला र सुजाता कोइरालालाई एकैठाउँ उभ्याउने प्रयास गरिएको हो ।
शुक्रबार डा. शेखरको सम्पर्क कार्यालयमा शुक्रबार सुजाता पुगेकी छन् । उनी पुगेसँगै डा. शेखरले कांग्रेसमा कोइराला परिवार एकजुट हुनुपर्ने बताउँदै सिंगो पार्टी पनि एकजुट भएमा राजनीतिक एकतामा बल पुग्ने बताएका थिए ।
उनले सानोबाबु गिरिजाप्रसाद कोइरालाको भनाइ स्मरण गर्दै राजनीतिक दलको बीचमा सहमति र एकता जरुरी रहेको बताए ।
कोइरालाले भने, ‘पहिले एकता नेपाली कांग्रेसको बीचमा गर्नुपर्नेछ । एकता हामीले गर्यौ भने मात्र अरु पार्टीबाट एकताको फल पाउन सकिन्छ ।’
कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य (डा. शेखर, शशांक र सुजाता) भिन्नभिन्नै ठाउँमा उभिएका थिए । एकै परिवारका उनीहरूबीच चुनावी तालमेलसमेत हुन सकेन ।
जसकारण डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवारी बनेकी थिइन् । उता, शशांकले पनि समर्थन गर्ने अवस्था रहेन ।
आगामी १५ औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ शशांक र बहिनी सुजाताको समर्थन चाहेको उनी निकटहरू बताउँछन् ।
यसैबीच शुक्रबार सुजाता र शेखरको भेटसँगै अब कोइराला परिवार एक हुने सन्देश दिन खोजिएको बताइन्छ । डा. शेखरले पनि कोइराला परिवार एक हुने प्रतिक्रिया दिए ।
उनले भने, ‘१५औं महाधिवेशनलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेछ । हामी अहिले एकै ठाउँमा छौं । पहिले पनि उभिएका थियौं, कहिलेकाँही तलमाथि हुन्छ ।’
उनले कोइराला परिवार एक भएको सन्देश आफ्ना कार्यकर्तामाझ दिने र जसकारण आगामी महाधिवेशनबाट आफूले नेतृत्व लिने पक्षमा रहेको उनी निकटहरू बताउँछन् ।
Discussion about this post