धरान : धरान उपमहानगरपालिकाको नगरसभा बैठक आइतबार बस्ने तयारी छ । यसअघि दुईपटक नगरसभा बैठक बस्न नसक्दा धरानको बजेट अन्योल छ ।
यसैबीच आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा बस्ने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका छन् ।
पत्रअनुसार पहिलो एजेण्डामा आर्थिक बर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम रहेको छ । यसैगरी दोस्रो एजेण्डामा आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट तथा कार्यक्रम राखिएको छ भने तेस्रो एजेण्डामा विविध रहेको छ ।
यसअघि असार १० गते सैनिक भवनमा नगरसभा शुरु नै नभई विवाद उत्पन्न भएको थियो । पछिल्लोपटक असार ३१ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा सभा बस्ने भनिएपनि उक्त बैठकमा पनि विवाद हुँदा बैठक बस्न सकिएको थिएन ।
करारमा रहेका कर्मचारीहरूको म्याद थप गर्ने कि नगर्ने भन्ने विवादले नगरसभा हुन नसकेको बताइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार दिउँसो ३ बजे नगरसभा हुनुअघि बिहान ८ बजे कार्यपालिका बैठक बस्नेछ । उक्त बैठकमा सहमति गरेर दिउँसो ३ बजे नगरसभा गर्ने तालिका रहेको राईले जानकारी दिए ।
असारभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम पास हुन नसकेपछि धरानमा अत्यावश्यक सेवाबाहेक सबै शीर्षकको खर्च रोकिएको छ ।
यता, धरानका उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार कार्यपालिका बैठकबाट विवादित विषय समाधान हुनेछ ।
विवादित बिषयलाई समाधान गर्न विभिन्न चरणमा मेयर हर्क साम्पाङसँग छलफल भएर निकास आएको उनले बताए । उनले भने,‘करिब कुरा मिलेको छ । आइतबार बिहान कार्यपालिका बैठक बसेपछि दिउँसो ३ बजे नगरसभा बस्ने तयारीमा छौँ ।’
Discussion about this post