इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष ०८०।८१ मा प्रहरी मर्यादा विपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक डीएसपीसहित ३१२ जना प्रहरीलाई कारबाही गरेको जनाएको हो।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा मंगलबार आयोजना गरिएको आर्थिक वर्ष ०८०।८१ को वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
त्यस्तै गत आर्थिक वर्ष ०८०।८१ मा ९ हजार ३८७ वटा मुद्दा दर्ता भएको र बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए।
कार्यक्रममा कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले कोशी प्रदेश प्रहरी कार्यालयले १ वर्षको अवधिमा गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका सचेतनामूलक कार्यक्रम लगायत प्रहरीले गरेका नवीनतम कार्यहरूको विवरण प्रस्तुत गरेका थिए ।
Discussion about this post