चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०र८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१ थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९/८० मा यो सङ्ख्या २३ हजार २५७ थियो ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउने गरी धार्मिक कार्यक्रम, देवघाट धाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए ।
भ्रमण वर्षका अवसरमा देव नगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटे बाघ राखिएका छन् । दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । रासस
Discussion about this post