सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराईलाई जिल्ला सभापति चयन गरेका हुन् । सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिनाभित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो ।
यसअघि २०७४ मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । ०७४ फाल्गुन भित्र इकाई, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमतिसहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन ।
सोही समितिलाई पुनः २०७५ वैशाख ६ गते सम्मका लागि समय थप भएको थियो । भट्टराई नेपाली काँग्रेस इटहरी उपमहानगर समिति सचिव निर्वाचित भएपछि बुद्धहाङ लिम्बूलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरिएको थियो ।
२०६५ सालदेखि नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसमा आबद्ध रहेर बिद्यार्थी राजनीति गर्दै आएका भटराई २०७१ सालमा सो क्याम्पसको इकाइ सभापति भएका थिए ।
२०७३ सालमा भएको स्वबियु निर्वाचनमा अखिलका रुपचन्द्र अधिकारीसँग झिनो मतले पराजित बनेका उनको काँधमा अब स्वबियु निर्वाचन गर्दै महत्वपूर्ण जिम्मेवारी आएको छ ।
संघको जिल्ला कार्यसमितिका लागि निर्वाचन गर्ने जिम्मेवारी पनि उनमा छ । नेपाली कांग्रेसको सस्थापन पक्षसँग नजिक रहेर विद्यार्थी राजनीति गर्दै आएका उनी संघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा हालका केन्द्रीय सदस्य राजीव ढुंगाना तथा प्रभावशाली नेता विकास केसीको निकतस्थ मानिन्छन् ।
विद्यार्थी संगठनका लागि कुशल संगठकका रुपमा रहेका भट्टराई आगामी चैतर ५ मा हुने स्वबियु चुनावमा सुनसरीमा रहेका ७ क्याम्पसहरुमा संगठनलाई विजयी गराउने मुख्य दायित्व छ । लामो समयदेखि अधिवेशन नभएको नेविसंघ सुनसरीमा अधिवेशनका लागि तयारी गरिने भएको छ ।
सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने भट्टराईले बताए । नेविसंघको आन्दोलन र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा देखाउने सङ्गठन भएको पुष्टि गर्न आफू लागिपर्ने उनले बताए ।
विद्यार्थीको आवश्यकता र भावनाअनुसार सङ्गठनलाई अघि बढाइने उनले उद्घोष गरेका छन् । आफूलाई आएको अधिवेशन गराउने जिम्मेवारीमा कुनै पनि कसर बाँकी नराखी लागिपर्ने बताए ।
स्ववियू निर्वाचन लगत्तै नेविसंघको इकाई अधिवेशन सुरु हुने उनको भनाई छ ।
Discussion about this post