केदार बस्नेत
धरान । बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आज धरान रंगशालमा अन्तिम क्वाटर फाइनल खेल सम्पन्न भयो । आजको खेलमा कउरन बजार प्रगती संघ (केबिपिएस) बंगलादेशलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।
मोरङको जितमा गोल किपर प्रमिजय गच्छदार नायक बने । उनले बंगलादेशको ३ पेनाल्टी बचाए । बंगलादेशका फोरिड, सागोर र साहिनको प्रहार गोल किपर गच्छदारले बचाएका थिए । गच्छदारले म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार पुरस्कार प्राप्त गरे । बंगलादेशका खोका बाबुले मात्रै पेनाल्टीमा गोल गरे । यता पहिलो नम्बरमा आएका मोरङका धिरे बिष्टको प्रहार बंगलादेशका गोल किपर कोबिजले रोकिदिएका थिए । तर त्यसपछि मोरङका सबै खेलाडीले गोल गरे । सञ्जय धिमाल, सान याक्खा, मनिष धिमालले गोल गरेपछि मोरङ विजयी भएको थियो । केविपिएस बंगलादेश झापा गोल्डकपमा पनि एपिएफसँग सडनडेथमा पराजित भएको थियो ।
प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए । खेलको दोस्रो मिनेटमा नै मोरङका सञ्जय धिमाल वान भर्सेज वानमा गोल गर्न चुके । बंगलादेशी गोल किपर कोबिज धिमालको प्रहार बचाएका थिए । लगत्तै छैठौ मिनेटमा बंगलादेशका क्यामरुनी खेलाडी ग्लोरीले राम्रो मौका खेर फाले । गोल किपर बिट भइसकेको अवस्थामा ग्लोरीको प्रहार पोष्ट बाहिरीयो । २२ औं मिनेटमा बंगलादेशका मुसाले आफ्नै पोष्टमा गोल गरे पनि त्यतिबेला नै रेफ्रीले बंगलादेशलाई फल दिएपछि गोलले मान्यता पाएन । खेलको ३७ औ मिनेटमा बंगलादेशका सद्दामले गोल गर्न सकेनन् । साहिनले दिएको क्रस पास पेनाल्टी एरियामा रहेका सद्दामले बललाई पोष्टको दिसा दिन सकेनन् ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा मोरङका गोल किपरले डिबक्स बाहिर आएर हातले गोल छेकेका थिए । सबै खेलाडी बिट भएपछि बंगलादेशका साहिलले प्रहार गरेको गोललाई किपरले डिबक्स बाहिर आएर मुस्किलले बचाएका थिए । उनलाई पहेलो कार्ड दिइयो ।
आजको खेल सकिएसँगै २३ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । भोली बुधबार हुने पहिलो सेमिफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र युनाइटेड खार्साङ फुटबल क्लब भिड्नेछन् भने बिहीबार एभिनियर एफसी क्यामरुन र एन्फा मोरङले सेमिफाइनल खेल्नेछन् ।
एन्फा मोरङका प्रशिक्षक रानु राना मगरले युवा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताए । उनले विदेशी टोलीसँग बराबरी खेलेर टाइब्रेकरमा जित्नु राम्रो भएको भन्दै राम्रो अनुभव हासिल गरेको बताए ।
प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
Discussion about this post