भरतपुर : तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भारतीय बस मर्स्याङदी नदीमा खस्दा भएको दुर्घटनामा मृतकको पोस्टमार्टम चलिरहेको छ।
चितवनको भरतपुर अस्पतालमा अहिलेसम्म ८ जनाको पोस्टमार्टम सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषबहादुर रिजालले बताए।
पोस्टमार्टमसँगै शवलाई भारत लैजाने भएकाले नकुहिनका लागि इन्जेक्सन दिने लगायतको काम भैरहेकाले ढिलाई भएको उनले जानकारी दिए।
भोलिसम्म पोस्टमार्टम सकिने उनको भनाइ छ। बिहान ८ बजेदेखि पोस्टमार्टम सुरु भएको थियो।
मृतकको शुक्रबार राति नै शव अस्पतालमा ल्याइएको थियो ।
शुक्रबार पोखराबाट काठमाडौं पशुपतिनाथ दर्शनका लागि भारतीय पर्यटक बोकेर जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
एकजना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएको थियो भने बाँकी २६ जनाको आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।
गम्भीर घाइते १६ जनाको नेपाली सेनाको हेलिकप्टरमा उद्दार गरेर थप उपचारका लागि काठमाडौं पुर्याइएको छ। उनीहरूको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार चलिरहेको छ।
यसैबीच भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौं आइपुगेकी छन्।
उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। उनी काठमाडौं हुँदै भरतपुर पुग्नेछिन्। दुर्घटनास्थलमा समेत पुग्ने जनाइएको छ।
Discussion about this post