विराटनगर । मोरङमा मिनी ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । उक्त दुर्घटना पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा भएको हो । ग्यास बोकेर पश्चिमतर्फ आउँदै गरेको को १ क ७१० नम्बरको मिनी ट्रकले पश्चिमतर्फ नै आउँदै गरेको साइकललाई साँझ ६ः१० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर साइकल यात्री उर्लाबारी–२ का अन्दाजी ६० वर्षीय गोकल भट्टराईको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनालगत्तै ट्रक र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का २६ वर्षीय श्रवणकुमार चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार साइकलले बाटो काट्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
Discussion about this post