विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित एउटा काठ मिलबाट अवैध रूपमा राखिएको १ सय ३५ क्युफिट काठ बरामद भएको छ ।
हिमाल काठ उद्योगबाट सिसौ प्रजातिको चिरान काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । मिलमा अवैध काठ लुकाएर राखेको सूचना आएपछि वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सोमबार साँझ ६ः३० बजेतिर छापा हानेको थियो । त्यस क्रममा काठ बरामद भएको हो ।
सब डिभिजन वन कार्यालय लाटीझोडाका प्रमुख एवं वन अधिकृत अमृत पन्तका अनसार आवश्यक कागजात फेला नपरेपछि काठ बरामद गरिएको छ । काठ सुनसरीको इटहरीबाट मिलसम्म ल्याइएको उनले बताए । ‘वन कार्यालयको अनुमति बिना नै एउटा जिल्लाबाट अर्को जिल्लामा काठ ओसारपसार गरेको पाइएकाले बरामद गरिएको हो,’ पन्त भन्छन्, ‘थप कुरा अनुसन्धानपछि खुल्छ ।’
काठ अन्तरजिल्ला लैजाँदा राजस्व तिरेर चिरान आदेशसहितको छुट पुर्जी लिनुपर्ने हुन्छ । तर, प्रक्रिया पूरा नगरिकन इजाजत बिना ल्याएर राखेको पाइएपछि बरामद गरिएको उनले बताए । प्रहरी र वन कार्यालयको टोली आएको थाहा पाएपछि काठ लिएर आएकाहरु फरार भएका थिए ।
पन्तका अनुसार ५ लाख ४० हजार मूल्य बराबरको चिरान काठ ९७ थान (१३५.१६ क्युफिट ) बरामद गरिएको हो । सीटी सफारीमा राखेर मिलसम्म ल्याइएका काठ धुलिया लागेको र पुराना छन् । घरयासी प्रयोजनकै काठ भए पनि अन्तरजिल्ला ओसारपसार गर्दा सम्बन्धित निकायबाट इजाजत लिनुपर्ने वन अधिकृत पन्तको भनाइ छ ।
मिलका सञ्चालक भेषराज राईले भने काठ इटहरीका सन्तोष लम्सालको भएको जानकारी दिए । ‘म मिलमा थिइन । तर, काठ पठाइदिन्छु, चिरेर राखिदिनु है भनेर लम्साल दाइले भन्नु भएको थियो,’ राई भन्छन्, ‘पहिल्यै चिरेर राखेका काठ फर्निचरको सामान बनाउन आवश्यक ‘साइज’ निकाल्नलाई पुनः चिरान गर्न ल्याइएको रहेछ । आफ्नै बारीमा रोपेको सिसौबाट निकालेका काठहरु हुन् ।’
लम्सालले ५-६ वर्षअघि बारीको सिसौ चिरेर काठ घरमा राखेको बताएको राईको भनाइ छ । चिर्नका लागि मिलामा ल्याएका बेला वन कार्यालयले बरामद गरेर लगेको जानकारी उनले दिए ।
वन कार्यालयले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ । चिरान र घरयासी प्रयोजनका लागि भए पनि काठ ओसारपसार गर्न प्रक्रिया पूरा गरेर अनुमनि लिनुपर्ने हुन्छ । काठका धनीको पहिचान खुल्न बाँकी रहेको बताउँदै वन अधिकृत पन्तले धनी पत्ता लगाउने र मिलका सञ्चालकसँग थप कुरा बुझ्ने कम भइरहेको जानकारी दिए ।
काठ ओसारपसारमा संलग्न लगायतविरुद्ध बिना इजाजत काठ ओसारपसार गरेको कसुरमा मुद्दा चल्नसक्ने उनको भनाइ छ ।
Discussion about this post