विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा आज (मंगलबार) निकालिँदै छ । विराटनगर बजार परिक्रमा गराउने क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइने छ । विराटगनरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । रथयात्राकै लागि कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिँदै आएको विराटनगरको रथयात्रा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । खटयात्रालाई २०२५ सालबाट रथयात्रामा परिणत गरेर निकाल्न थालिएको हो । आज निकालिने रथयात्रा खटको ९३ औं र रथको ५६ औं संस्करण हो ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३ः३० बजेतिर निकाल्ने र रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने बताइएको छ । रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने गरेका छन् । करिब ५ लाख भक्तजनले रथयात्राको अवलोकन गर्ने अनुमान रथयात्रा समारोह समितिको छ ।
रथयात्रालाई लक्षित गरी ूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन सादा पोसाक र हतियारसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार सादा पोसाकमा मात्रै १३ वटा अलगअलग टोली परिचालन गरिएको छ । प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो । विशेष गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको कार्की बताउँछन् ।
विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाइएको जानकारी उनले दिए । रथयात्रामा मानवीय चहलपहल अत्यधिक हुँदा सुरक्षा चुनौती पनि बढ्ने गरेको छ । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउँदै भक्तजनको सुरक्षामा प्रहरी चनाखो रहेको जानकारी एसपी कार्कीले दिए ।
शंकास्पद व्यक्तिलाई निगरानीमा राख्दै कुनै घटना, अपराधिक र उच्छृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने प्रहरीको तयारी छ । एसपी कार्कीले विगतमा चोरी तथा लुटपाट मुद्दा चलेर छुटेकाहरुमाथि पनि सूक्ष्म निगरानी भइरहेको बताए ।
कुनै किसिमका अपराधिक गतिविधि हुन लाग्यो वा भइहाल्यो भने तत्कालै प्रहरीलाई खबर गर्न उनले सबैमा आग्रह गरेका छन् ।
प्रहरीले आइतबार र सोमबार राति केही भारतीयसहितलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको हो । मध्य रातमा बिना काम हिँड्डुल गर्ने र चोरी गर्ने उद्धेश्य देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र भव्य बनाउन प्रहरीले सबैमा अपिल गरिएको छ ।
सुरक्षा व्यवस्था कडा पारिएका कारण सबै जना ढुक्क भएर रथयात्रामा सहभागी हुनसक्ने डीएसपी बस्नेतको भनाइ छ । उनले भीडभाडमा आउनेले बहुमूल्य गरगहना लगाउन र बहुमूल्य वस्तु ल्याउन नहुने तथा स्वयं आफू पनि सचेत र चनाखो हुनुपर्ने बताए । रथयात्रामा केन्द्रित हुँदा चोरी हुने सम्भावना रहेकाले आफ्नो डेरा वा घरको सुरक्षामा पनि सबैले ध्यान दिनुपर्ने बस्नेत बताउँछन् ।
Discussion about this post