काठमाडौँ : गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्ण रूपमा काम गर्ने वचनबद्धता व्यक्त गरे । ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थ मन्त्रालयले राखेको अपेक्षाअनुसार गृह मन्त्रालयले काम गर्छ,’ उनले भने, ‘मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरूसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु । यसमा हाम्रो पूर्ण रूपमा काम गर्ने वचनबद्धता छ ।’
गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताए। ‘भन्सार कार्यालयको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ल्याएर काम गर्न सकिन्छ । यसमा म सहयोग गर्छु । भारततिर भन्सार कार्यालय छैन भनेर नेपालमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न नरोकौँ । छोटी भन्सार कार्यालय हुँदा राजस्वमा वृद्धि हुन्छ,’ उनले भने ।
Discussion about this post