विराटनगर । पूर्वमन्त्री भगवती चौधरीका छोरामाथि विराटनगरमा आक्रमण भएको घटनालाई राजनीतिकरण गरिएको छ ।
गुन्डागर्दीमा संलग्न समूहले आक्रमण गरेको घटनालाई राजनीतिकरण गरेर अर्कोतर्फ मोड्ने प्रयास भइरहेको हो । सुनसरीको दुहबी नगरपालिका–२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र २७ वर्षीय बालकृष्ण चौधरीमाथि विराटनगर महानगरपालिका–१० मा भदौ १ गते आक्रमण भएको थियो । साथी रहेका उनीहरुमाथि ‘प्लाई’ खरिद गरेको हिसाबकिताब मिलाउन विराटनगर आएका बेला भदौ १ गते दिउँसोको आक्रमण भएको प्रहरीले जनाएको छ ।
द्रव्यराज पूर्वमन्त्री एवं फरवार्ड लघुवित्त वित्तीय संस्थाकी संस्थापक भगवती चौधरीका छोरा हुन् । नेकपा (एमाले)की सांसद भगवती यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन् । आक्रमणमा संलग्न द्रव्यराजको सिक्री लुटेर फरार भएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुलाई विराटनगर–११ का ४७ वर्षीय कान्ता कामत, उनका छोरा २८ वर्षीय पंकज कामत, ३२ वर्षीय रोनाल कँडेल, २७ वर्षीय कालु भनिने रिकेश श्रेष्ठ र २१ वर्षीय प्रशान्त पौडेलले आक्रमण गरेको खुलेको छ । आक्रमणमा संलग्न रोनाललगायतका युवा अपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् ।
गुण्डागर्दीको राज चलाउन खोज्ने रोनालको समूहले पछिल्लो समय विराटनगरमा आतंक मच्चाइरहेको प्रहरीको विश्लेषण छ । प्रहरी स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका नेताको संरक्षणमा सर्वसाधारणलाई धम्क्याउने, थर्काउने र आक्रमण गर्ने काम भइरहेको हो । कुनै पनि घटनामा संलग्न भएर प्रहरीले कारबाही अघि बढाउन खोज्दा कांग्रेस नेताहरु बाधक बनिदिने गरेको स्रोतको भनाइ छ ।
राजनीतिक छत्रछायामा अपराधिक धन्दा चलाइरहेको यो समूहमाथि दबाबकै कारण प्रभावकारी ढंगबाट कारबाही भइरहेको छैन । पूर्वमन्त्रीका छोरा र उनका साथीमाथि भएको आक्रमणमा पनि कारबाही नगर्न कांग्रेसका नेताले दबाब दिइरहेको स्रोतले बतायो । विशुद्ध अपराधिक यो घटनालाई सत्तारुढ कांग्रेस र एमालेले राजनीतिकरण गर्न खोजिरहेको पाइएको छ ।
एमालेले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरिरहँदा कांग्रेसले कारबाही नगर्न प्रहरीलाई दबाब दिइरहेको हो । एउटा अपराधिक घटनालाई राजनीतिक रंग भरेर तथ्य मोड्दै आक्रमणमा संलग्न गुन्डा समूहलाई उन्मुक्ति दिने खेल भइरहेको छ । सत्तारुढ दलको दोहोरो दबाबका कारण प्रहरी भने अन्योलमा परेको छ ।
राजनीतिक संरक्षणकै कारण गुण्डागर्दीमा संलग्नको मनोबल बढेको छ । गुन्डा समूहले विभिन्न अपराधिक घटना गराइरहँदा पनि राजनीतिक दबाबमा सामसुम पार्ने गरिएको छ । जसका कारण दिनदहाडै व्यक्तिमाथि आक्रमण गर्ने र कानुन हातमा लिने समूह सक्रिय हुन थालेको छ । रोनालको समूहले फड्का र सट्टेबाजीको धन्दा पनि चलाइरहेको सूचना प्रहरीलाई छ ।
एक जना पक्राउ, अरु फरार
द्रव्यराजले घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका थिए । आक्रमणमा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा जाहेरी परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । काले भनिने रिकेश श्रेष्ठ पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले श्रेष्ठ पक्राउ परेको र अरु फरार रहेको बताए । भागेकाको खोजी जारी रहेको उनको भनाइ छ । ‘घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको छ । १ जना पक्राउ परेका छन् । फरार रहेकाले अरुको खोजी भइरहेको छ,’ डीएसपी बस्नेतले भने ।
आक्रमणबाट द्रव्यराजको आँखा, अनुहार तथा बालकृष्णको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । विराटनगरकै कोशी अस्पतालमा उपचार गराएको द्रव्यराजले बताए । उनका अनुसार एउटा समूहले चारैतिरबाट घेरा हालेर हेल्मेट, इँटालगायतले आक्रमण गरेको हो ।
द्रव्यराजले आफ्नो २ तोला सुनको सिक्री लुटिएको दाबी गरेका छन् । ‘आक्रमण मात्रै गरेनन्,’ उनले भने, ‘मेरो सिक्री पनि लुटेर फरार भए ।’
किन भयो घटना ?
घटनामा संलग्नमध्ये कान्ता कामतको विराटनगर–१० मा मनोकामना प्लाई हाउस नामक ‘फ्याक्ट्री’ छ । द्रव्यराजले कोठा मर्मत गर्न र टेबल बनाउन साउन अन्तिम साता ‘फ्याक्ट्री’बाट ‘प्लाई’ खरिद गरेर लगे । ‘प्लाई’को ३६ हजार रूपैयाँ तिरेको उनी बताउँछन् । तर, ‘फ्याक्ट्री’का सञ्चालकले भनेजस्तो ‘प्लाई’ पठाएनन् ।
‘१२ एमएमको भनेकोमा १६ एमएमको पठाएछन् । ‘वाटरप्रुफ’ भनेकोमा ‘नर्मल’ पठाएछन्,’ उनले भने, ‘सामान गलत आएको कुरा मिस्त्रीले बताएपछि ‘फ्याक्ट्री’ सञ्चालकसँग कुरा गरें । २ दिनपछि सामान फिर्ता गरेर पैसा लैजानु भनेर भनेका थिए ।’
सञ्चालकसँग कुरा भइसकेपछि उक्त ‘प्लाई’ आफैंले गाडीमा लोड गरेर दुहबीबाट विराटनगर पठादिएको द्रव्यराज बताउँछन् ।
उनका अनुसार सामान फिर्ता लिएका ‘फ्याक्ट्री’ सञ्चालकले पैसा भने ३० हजार मात्रै पठाए । ‘फिर्ता पठाउनुपर्ने ३६ हजार थियो । तर, ३० हजार मात्रै पठाए,’ उनी भन्छन्, ‘त्यसपछि कुरा गर्दा ‘फ्याक्ट्री’ सञ्चालकले फोनमै तथानाम गाली गर्न थाले । पैसा फिर्ता दिने कुरै गरेनन् ।’ त्यसपछि मिस्त्रीलाई नै लिएर भदौ १ गते आफू ‘फ्याक्ट्री’मा पुगेको उनले बताए ।
‘पैसाको कुरा हुँदै थियो । ‘फ्याक्ट्री’ सञ्चालकले फिर्ता दिने कुरा पनि गरेका थिए । सबै कुराहरु मिलिसकेपछि दुहबी फर्किनलाई हामी गाडीमा चढ्यौं,’ द्रव्यराजले भने, ‘त्यहाँबाट निस्किने बेलामा चारैतिरबाट घेरा हालेर आक्रमण गरियो । हामीले भागेर ज्यान बचायौं । त्यसपछि प्रहरीको शरणमा पुग्यौं ।’ आफूहरु निस्किने बाटोमै एम्बुस थापेजस्तो गरेर बसेका युवाहरुले एक्कासि आक्रमण गर्न थालेको उनले बताए ।
सुरुमा ‘फ्याक्ट्री’ सञ्चालक कान्ताका छोरा पंकजले हात हाल्नसाथ प्रशान्तलगायतले कुटपिट सुरु गरेको उनको भनाइ छ । ‘एम्बुस थापेजस्तो घेरा हालेर बसेका रहेछन् । हामी निस्किन लागेपछि एक्कासि आक्रमण गर्न थालिहाले,’ उनी भन्छन्, ‘योजनाबद्ध हिसाबले आक्रमण गरिएको छ । ‘फ्याक्ट्री’ मालिकले गुन्डा बोलाएर हमला गर्न लगाए ।’
पूर्वमन्त्री चौधरीको दुहबीमा फरवार्ड लघुवित्त छ । उनका छोरा द्रव्यराज फरवार्ड इन्टरप्राइजेज प्रा.लि नामक सुपर मार्केटका प्रबन्ध निर्देशक छन् । घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग उनले गरे ।
Discussion about this post