इटहरी : इटहरी उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको छ । अखाद्य वस्तु भेटिएपछि उपमहानगरले १४ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा उखुको जुसमा अखाद्य वस्तु फेला पारेसँगै १४ जनालाई पक्राउ गरिएको हो ।
उपमहानगरले अनुगमन गर्न थालको सूचना पाएपछि कतिपय व्यापारीहरू भने ठेला छाडेर भागेको इटहरी नगर प्रहरी प्रमुख जेबी राईले बताए । उनका अनुसार छाडेर भागेका ११ वटा ठेला समेत नियन्त्रणमा लिइएको छ ।
इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार अनुगमनको क्रममा उखुको जुसमा ‘आखाद्य केमिकल’ हालेर बेचेको पाइएपछि पक्राउ गरिएको हो ।
‘१८ वटा ठेलामा अनुगमन गरिएको थियो । ती मध्ये अखाद्य वस्तु बेचेको पाइएपछि १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छौँ,’ उनले भनिन् । कृत्रिम तरिकाले उत्पादन गरिएको अखाद्य वस्तु हालेको पाइएपछि अनुगमन गरिएको उनको भनाइ छ ।
बजार अनुगमनका क्रममा मानव स्वास्थ्यमाथि खेलवाड भइरहेको पाएपछि नियन्त्रणमा लिइएको उनले बताइन् ।
यसबारे इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले यसबारे उपमहानगरले नै कारबाही गर्ने बताए । उनले भने, ‘आजको दिन राखिदिनु भनेकाले हामीले राखेका हौँ ।’
यसबारे शुक्रबार थप अनुगमन गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने मेयर हेमकर्ण पौडेलको भनाइ छ । शुक्रबार गोदाममा अनुगमन गरेर थप अखाद्य वस्तु फेला परे बरामद गर्ने तयारी रहेको मेयर पौडेलले बताए ।
Discussion about this post