इलाम / बहुचर्चित नेपालटार मङ्गलवारे पक्की सडक कच्चीमा परिणत हुँदै गएको छ । समयमा मर्मत नहुँदा सडक कच्चीमा परिणत हुँदै गएको हो ।
बर्खामा हिलाम्य बनेको सडकमा सवारी कुदाउन नै समस्या भएको सवारी चालकहरूको भनाई छ । साना सवारी सञ्चालन हुन नसक्दा व्यवसायी समेत मारमा परेका छन् । प्राय साना गाडी भएकाहरूले ठुला गाडी खरिद गर्न थालेका छन् । सक्नेले ठुला सवारी खरिद गरे पनि साना सवारी साधन भएका व्यवसायीहरू मारमा परेका छन् ।
बितेका निर्वाचनमा निर्माणको मुख्य मुद्दा बन्ने गरेको यो सडकको नारा बोकेर सीमित व्यक्तिले चुनाव जिते तर सडक बनाउन सकेनन् । अर्को कुरा त सडक निर्माण कसले गर्ने भन्ने सम्म अन्योल रहेको छ ।
करिब १३ वर्षअघि कालोपत्रेसमेत भएको १२ किलोमिटरको यो सडकमा पहिलो पटकको कालोपत्रेको चिनो बानो छैन । दोस्रो–तेस्रो पटक गरी करोडौँ रकम मर्मतमा खर्चिए पनि अहिले अधिकांश भागमा कालोपत्रे गरिएको सङ्केतसम्म छैन । कच्चीझैँ बनिसकेको यो सडक बर्खामा हिलाम्य हुन्छ, हिउँदमा धुलै धुलो । इलाम निर्वाचन क्षेत्र नम्बर २ लाई सदरमुकामसँग जोड्ने मुख्य सडकको अवस्था दयनीय भएपछि स्थानीयले विरोध जनाउन थालेका छन् ।
डिभिजन सडक कार्यालयले यो सडक कालोपत्रे गरे पनि सडक बोर्डमा सूचीकृत नभएकाले मर्मतमा अन्योल हुँदै आएको बताउँदै आएको छ । कालोपत्रे जीर्ण भएपछि उपभोक्ताले यो सडकमा बर्खाका बेला रोपाइँसमेत गरेर विरोध जनाएका थिए ।
उनीहरूले सडक मर्मत नभएको भन्दै पटक–पटक डिभिजन सडक कार्यालयको ध्यानाकर्षण गराउने गरेका छन् । तर मर्मतमा कसैले चासो नदिएको सो क्षेत्रका स्थानीयको भनाई छ । इलाम नगरपालिका–१, साखेजुङका वडा सदस्य मोहन गुरुङका अनुसार सडकको गुणस्तरबारे धेरै पटक प्रश्न गरे पनि सुनुवाइ भएको छैन ।
इलाम नगरपालिका र देउमाई नगरपालिका जोड्ने यो सडक नगरपालिकाले समेत मर्मत गर्ने गरेका छैनन् ।
यता सडक डिभिजन कार्यालयले समेत सङ्घीय सरकारबाट नै रकम छुट्टिएर आए सडक निर्माण हुने बताउने गरेको छ ।
Discussion about this post