विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन त्रुटिपूर्ण हिसाबले सहमति पत्र तयार परेर अनशन तोडेको गरेको पाइएको छ ।
प्रदेश सरकारसमक्ष विभिन्न नौ बुँदे माग राख्दै कार्कीे मंगलबार (भदौ २५ गते)आमरण अनशनमा बसेका थिए । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको भन्दै उनले बुधबार (भदौ २६ गते) राति अनशन तोडेका थिए ।
अनशत तोड्नुअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री लीलाबल्लभ अधिकारी र आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कार्की पक्षसँग वार्ता गरेर सहमति जुटाएका हुन् ।
तर, सहमति पत्र भने त्रुटिपूर्ण हिसाबले तयार पारेको पाइएको हो । उक्त सहमति पत्रमा अनशनमा बसेका पूर्व मुख्यमन्त्री कार्की र सरकारका तर्फबाट मन्त्री अधिकारी तथा रोहबरमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको हस्ताक्षर देखिन्छ ।
रोहबरमा कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ र कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीको पनि नाम छ । तर, उनीहरूको हस्ताक्षर भने छैन ।
सहमति पत्रमा मिति गलत लेखिएको पाइएको हो । कार्कीले भदौ २४ गते सोमबार सुरु गरेको अनशन भदौ २५ गते मंगलबार समाप्त भएको भनेर पत्र तयार पारिएको छ । जबकि, उनले मंगलबार अनशन सुरु गरेर बुधबार राति ९ बजेतिर तोडेका हुन् ।
सुरु भएको दिन अनशन समाप्त भएको भनेर सहमति पत्रमा उल्लेख गरिएको छ । उक्त सहमति पत्र कार्कीकै कानुन व्यवसायी एवं प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले तयार पारेको बुझिएको छ । कोइरालाले पत्र आफूले नै तयार पारेको स्वीकार गरे ।
सुरुमा उनले पत्र सही रहेको र त्रुटि नै नभएको दाबी गरे । तर पछि उनले भने, ‘ए त्रुटि भएछ ? थाहै पाइएन । पत्रमा मिति फरक परे पनि अनशन बसेको र अन्त्य गरेको त पक्का हो नि ।’
मिति लेख्न त्रुटि भएपनि सहमति पत्रले मान्यता पाउने अधिवक्ता कोइरालाको दाबी छ । ‘मिति गलत भए पनि अनशन बसेको कुरा लेखिएकै छ । त्यसमा सम्बन्धितको हस्ताक्षर छ । त्यो सहमति पत्रले मान्यता पाउँछ,’ उनले थपे ।
मन्त्री अधिकारीले कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक रहेको बताएका थिए । उनले पत्रको मितिमा नभइकन विषयवस्तुमा केन्द्रित भएर सहमति र हस्ताक्षर गरिएको बताए । उनले गरेको हस्ताक्षरमा भने सही मिति उल्लेख गरेका छन् ।
प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र मंगलबार दिउँसो ४ बजेदेखि कार्की आमरण अनशन बसेका थिए ।
उनकै अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधित क्षेत्रमै अनशन बसेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाड्यो ।
घरमा नबसिकन फर्किएर आएका कार्की निषेधित क्षेत्रभन्दा बाहिर देवकोटा चोकमा आमरण अनशन बसेका थिए । आफ्नो नेतृत्वमा सरकार हुँदा सञ्चालन गरेका जनप्रिय कार्यक्रम सरकारले कटौती गरेको भनेर विरोध जनाउँदै कार्कीले अनशन सुरु गरेको दाबी गरेका थिए ।
Discussion about this post