धरान : सामाजिक सञ्जालको माध्यमबाट पछिल्लो समय अनेकौं बहाना गरी ठगीका घटना हुने गरेको पाइएको छ । पछिल्लो समय पार्सलको बहाना गरी मोटो रकम ठगी गर्ने गरेको पाइएको हो ।
सामाजिक सञ्जालको माध्यमबाट मुद्रा सम्बन्धी आपराधिक घटना दिनानुदिन बढ्नुमा सामाजिक सञ्जाल नै मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ । सामाजिक सञ्जाल टिकटक, ह्वाट्सएप, फेसबुक, भाइबर लगायतका अनलाइन एपहरूमा साथी बनेर विभिन्न बहाना गरी पार्सल पठाएको भन्दै ठगी गर्ने गरेको घटना बाहिरिएको छ ।
धरान १५ निवासी अम्बिका तामाङलाई सामाजिक सञ्जाल टिकटक आइडीमा एक विदेशी नागरिकले म्यासेज गरे ।
आफू ‘बेलायत बस्छु’ भनेर साथी बन्न अनुरोध गरेको र साथी बनेपछि बोल्न थालेको उनले सुनाइन् । बोल्दै जाँदा पार्सल पठाइदिदैँछु भनेर भिडियो पठाई भिडियोमा हेर्दा लेडिज पर्स ब्यागहरू, सेण्डलहरू, युकेको ३५ हजार डलर पैसा भनी लोभ्याएको उनले बताइन् ।
केही समयपछि भने एयरपोर्टको कर्मचारी बोलेको तपाईँको बेलायतबाट समान आएको छ, भन्सार कर ६० हजार लाग्छ पठाउनु भनी बताएकोले उक्त प्रसा पठाएको र ती व्यक्तिबाट धेरै समान रहेछ अझै कर लाग्छ दुई लाख पठाउनु भनेर बताएको तामाङले सुनाइन् ।
पुनः अर्को दिन पनि गिफ्टमा भएको डलर पैसा साट्न अझै चार लाख लाग्छ भनी एयरपोर्टको कर्मचारीले ह्वाट्सअपमा म्यासेज गरेको र आफूले एयरपोर्टमै गएर सामान लिने बताएपछि कुनै नम्बरमा सम्पर्क नभएको र दुई लाख ६० हजार ठगिएको उनले बताइन् ।
यसैगरी सोनु गुरुङलाई पनि टिकटक आईडीमा अमेरिकन मानिस भन्दै केही दिन साथी बनी बोलेर पार्सल पठाईदिन्छु भनी पार्सलमा विभिन्न सरसमानहरू पठाइदिएको र पार्सल लिनको लागि नेपाल सरकारलाई कर तिर्नुपर्छ भनेर पटकपटक गरी एक लाख ७० हजार पठाउँदासमेत अझै सरकारलाई कर बुझाउनुपर्छ भनेपछि आफू ठगिएको भन्दै उनले प्रहरीमा उजुरी दिइन् ।
माथि उल्लेखित दुई पात्र प्रतिनिधि मात्र हुन् । उनीहरूजस्तै दर्जनौँ मानिसहरू अनलाइनमार्फत ठगीमा पर्ने गरेका छन् । खासगरी अनलाइन वा पार्सलको माध्यमबाट ठगीमा पर्ने अधिकांश महिलाहरू रहेका छन् । सामाजिक सञ्जालमार्फत यसरी आउने म्यासेज र फोनकै भरमा पत्याइहाल्ने र पैसा पठाउने गर्दा महिलाहरू ठगीमा पर्ने जानकारहरू बताउँछन् ।
अधिवक्ता दीपक बुढाथोकी भन्छन्, ‘यसरी ठगिएका कति पीडितहरूले उजुरी दिन्छन् भने कतिले दिदैंनन् । किनभने यस्ता घटनामा संलग्नको नजिक पुग्न प्रहरीलाई पनि सकस पर्छ ।’
उनकाअनुसार यसरी ठगिएपछि समाजमा मान्छेले के भन्छ ? भन्ने पिरका कारण पनि अधिकांशले घटना लुकाउने गरेका छन् ।
यसरी ठगीमा पर्नुका अन्य कारण पनि रहेको उनले बताए ।
धरान १२ निवासी एलिजा राईले सधैंजसो अनलाइनबाट समानहरू किन्थिन् । पछिल्लो समय इन्स्ट्राग्राममा रहेको अनलाइनबाट कपडा मगाउदा १० हजार ठगीमा परिन् । यसैगरी किताबका सामान मगाउँदा ७० हजार ठगिएको उनले बताए ।
यस्तै, अनलाइनबाट मोटरसाइकल किन्न खोज्दा धरान १० का प्रतीक लिम्बू ८० हजार ठगिएको बताए ।
खासगरी पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरी फेसबुकमा रहेको साथीलाई ढाँटेर पैसा माग्ने गरेको अर्की पीडित धरान ९ की रक्षा गुरुङ र धरान १८ कि सिर्जना लिम्बूले बताइन् । यसमध्ये अनलाइन कक्षा लिन शोभा राईको एक लाख ४९ हजार ठगिएको सुनाइन् ।
हाल सामाजिक सञ्जालको बढ्दो प्रयोगकर्ता भएपनि यसको दुरुपयोगका कारण ठगीमा पर्ने घटना बाहिरिरहेका छन् । यसैक्रममा इलाका प्रहरी कार्यालय धरानमा मात्रै आर्थिक वर्ष २०८९।८१ को बैशाखसम्ममा यो किसिमका ६२ वटा उजुरी परेको छ ।
जसमा ७ वटा उजुरीको फछ्र्यौट भइसकेको छ भने अरु फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
Discussion about this post