विराटनगर : मोरङमा बाबुसँगै जंगल जाँदा बेपत्ता भएका एक बालकको कंकाल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार (आज) दिउँसो भेटिएको हो ।
आहाले समुदायिक वनभित्र कंकाल फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार जंगलमा दाउरा खोज्न गएकाहरूले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी भदौ २३ गते बाबु पदमबहादुरसँग जंगल गएको खुलेको छ । बेपत्ता भएको १३ दिनपछि उनको कंकाल भेटिएको हो ।
‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन् । काम सकिएपछि बाबु घर फर्किए । छोराले म केहीबेरमा आउँछु भनेर भनेछन् । तर, फर्किएर आएनन् । परिवार र आफन्तले खोजी गरिरहेका बालकको कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने ।
उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको छ ।
‘रुख ढलेर किच्दा बालकको मृत्यु भएको हुनसक्ने देखिन्छ । कंकाल पनि ढलेको रुखले च्यापिएको अवस्थामा भेटिएको हो,’ उनले भने, ‘विस्तृतमा घटनाको अनुसन्धान अगा बढाइएको छ । थप विषय अनुसन्धानपछि पत्ता लाग्छ ।’ ढलेको रुखले लागेर मृत्यु भएपछि जंगली जनावरले खाएको हुनसक्ने प्रहरीको आशंका छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कंकाल उठाएर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post