खोटाङ- सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल-गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । विसं २०६९ चैत २३ गते सम्झौता भई १० वर्षपछि विसं २०७३ चैत २२ गते निर्माण सम्पन्न भएको थियो ।
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको बाढीले बगाएको छ । खोटाङका नागरिकको दैनिकीसँग जोडिएको उक्त पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको हो ।
पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । सम्झौताको १० वर्षपछि निर्माण भएको पुल शनिबारको बाढीले बगाएपछि आवागमनमा पुनः समस्या हुने उहाँले उल्लेख गर्नुभयो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको उक्त मोटरेबल पक्की पुल एक सय २० मिटर लामो थियो ।
फोक्सिङटारस्थित पुल बाढीले बगाएपछि जिल्लाको विकास १० वर्ष पछाडि धकेलिएको अध्यक्ष आचार्यले बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भ्यिाइन्थ्यो ।
पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो”, उहाँले भन्नुभयो, “पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले समयमा ध्यान दिएर यथाशीघ्र वैकल्पिक व्यवस्था गर्नु आवश्यक छ ।”
दिक्तेल–गाईघाट खण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको उक्त सडक कालोपत्रको काममा ठेकेदार कम्पनीले लापरबाही गर्दा अलपत्र परेको स्थानीयले आरोप लगाएका छन् ।
मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ ।
भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्नेगरी विसं २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दा उक्त सडक कालोपत्र सम्पन्न नभएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष आचार्यले बताउनुभयो ।
देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार खण्डको करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । रु ५५ करोड ८७ लाखमा विसं. २०७७ साउन १० गतेभित्र कालोपत्र सक्नेगरी विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता भएको थियो ।
तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा सोही मार्ग प्रयोग गरिने गरिएकामा निर्माण ठप्प हुँदा सास्ती हुँदै आएको अध्यक्ष आचार्यको भनाइ छ ।
Discussion about this post