बेलबारी । लोप हुँदै गएको गन्धर्व जाति र उनीहरुको भाषा,संस्कार र संस्कृतिको संरक्षण र सम्र्बद्धनका लागि सरकारले बिशेष पहल गर्नुपर्नेमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले जोड दिएकी छिन ।
गन्धर्वहरुको संरक्षण र सम्र्बद्धनमा स्थानीय तह मात्र नभएर राज्यले नै पहल गर्नुपर्ने उनले धारणा राखिन । पुर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजद्धारा आयोजित (बृहत गन्धर्व सांस्कृतिक अभियान २०७९) अन्र्तगत शुक्रबार मोरङको बेलबारी नगरपालिकामा आईपुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएकी हुन । अभियान सफलताको शुभकामना सहित कोईरालाले नगरपालिकाको तर्फबाट नगद सहयोग समेत गरिन ।
लोपोन्मुख संस्कार र संस्कृतिको संरक्षणमा सबैले लागि पर्नुपर्ने बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । उनले अभियान सफलताको शुभकामना समेत दिए । गन्धर्व कलाकार सहितको टोलीले नगरपालिकामा साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
बिगत एक महिना अघि झापाबाट शुरु भएको अभियान पश्चिम महाकाली सम्म पुग्ने र देशका सबै पालिकाहरुमा पुग्ने लक्ष्य लिएको अभियानका संयोजक रबिन गन्धर्बले बताए । उनले गन्धर्ब जातिको मौलिक बाजाहरु,संस्कार र संस्कृतिका लागि गन्धर्ब संग्राहलय निर्माण गर्ने समेत बताए ।
Discussion about this post