काठमाडौँ– उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। निर्वाचन आयोगले संसद् भवन नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ। उपराष्ट्रपतिमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ। उम्मेदवारी दर्ता गर्न आउने व्यक्ति राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिंगको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ। मतदाता भने संघीय संसद् र प्रदेश सभाका सदस्य मात्रै हुने छन्।
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ देखि ३ बजेसम्म हुनेछ। उम्मेदवारको विरोधमा उजुरी दिने समय ३ देखि साँझ ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन सोही दिन १२ देखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ देखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन ४ देखि ५ बजेसम्म गर्ने कार्यतालिका छ। उपराष्ट्रपतिका लागि मतदान चैत ३ गते हुनेछ। मतदानमा संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकिएको छ। यसैतबिच दलहरूले हालसम्म उम्मेदवार छान्न सकेका छैनन्। सत्ता गठबन्धनले बिहान बसेर उम्मेदवारको टुंगो लगाउने बताएको छ। एमालेले पनि आजै उम्मेदवारका विषयमा निर्णय गर्ने जनाएको छ।
Discussion about this post