निशा राई
धरान : नेपालमा सहकारी स्थापना गर्नु भनेको राज्यमा रोजगारी सिर्जना गरी व्यवसाय प्रवर्द्धनमा टेवा पु¥याएर गरिबी निवारण गर्नु हो । सहकारी स्थापनाको मुख्य उद्देश्य रहेको स–सानो पुँजीलाई सिञ्चित गर्नुपर्ने भएपनि पछिल्लो समय सहकारीमा राखेको रकम अपचलन हुँदा थुप्रै बचतकर्ताहरू प्रताडित बनेका छन् ।
सङ्घीय सरचनापछि ७ सय ५३ स्थानीय सरकारहरू छन् । सोअनुसार सहकारीको संरचना पनि स्वतः फेरियो । सोहीअनुसार स्थानीय सरकार र सङ्घीय सरकारको क्षेत्र अधिकारमा रहने अवस्था बन्यो । जिल्लास्थित सहकारीहरू सङ्घीय, प्रदेश र स्थानीय तहको सरकारको मातहतमा हस्तान्तरण भएसँगै अहिले स्थानीय तहले नै पनि सहकारीको नियमन गरिरहेको छ ।
स्थानीय तहहरूमा सहकारी ऐन, कानुन भएपनि त्यसलाई बेवास्ता गरेर सहकारी सञ्चालकहरूले आफूखुसी ऋण लगानी गर्ने र ऋण लगानीको रकम नउठेपछि बचतकर्तालाई थाहै नदिई फरार हुँदा समस्या उत्पन्न भएको छ ।
यसैबिच धरान उपमहानगरपालिकाभित्र मात्र ८७ वटा सहकारी दर्ता भएकामध्ये हाल २५ वडा सहकारी संस्थाहरू निष्क्रिय रहेको धरान उपमहानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माले जानकारी दिए । उनकाअनुसार जसमध्ये ६२ वटा सक्रिय रहेपनि कतिपय सहकारीहरू बन्द हुने अवस्थामा पुगेको छ ।
उपमहानगरको तथ्याङ्कअनुसार निष्क्रिय हुने सहकारीहरूमध्ये कृपा बचत तथा ऋण सहकारी, सुम्निमा बचत तथा ऋण सहकारी, श्रेया बचत तथा ऋण सहकारी, सुनकोसी बचत तथा ऋण सहकारी, परिश्रमी बचत तथा ऋण सहकारी, भानु पाथीभरा बचत तथा ऋण सहकारी, श्रमजीवी बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, ठिङ्गाबारी बचत तथा ऋण सहकारी, आत्मनिर्भर बचत तथा ऋण सहकारी, अनमोल बचत तथा ऋण सहकारी रहेका छन् ।
यसैगरी भविष्य बचत तथा ऋण सहकारी, ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी, सेहरा कृषि सहकारी, हाम्रो पाँचकन्या बचत तथा ऋण सहकारी, भर अभर बचत तथा ऋण सहकारी, उत्साह बचत तथा ऋण सहकारी, सयपत्री बचत तथा ऋण सहकारी, बसन्तटार कृषि सहकारी, औजार प्रकाशन सहकारी, हिउँचुली बचत तथा ऋण सहकारी, यति बचत तथा ऋण सहकारी, बालाजी दुग्ध सहकारी, चक्रकुण्ड कृषि सहकारी र सल्लेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड निष्क्रिय रहेको आर्थिक विकास महाशाखाका प्रमुख शर्माले बताए ।
धरान–१५ मा रहेको श्रेया बचत तथा ऋण सहकारी संस्थाले रामबहादुर तामाङसहित एक सय ६ जनाको १८ करोड ५२ लाख ७२ हजार ७ सय ८६ रुपैयाँ अपचलन गरेको खुलेको छ । यसैगरी सुनित्र राईको मात्रै १७ करोड ९० लाख ९ हजार २ सय ५९ रुपैयाँ अपचलन गरेको खुलेको छ । सोबारे यसअघि नै इलाका प्रहरी कार्यालय धरानमा मुद्दा दर्ता भएको छ ।
यसैबिच कौसल्या लिम्बूसमेत गरी २ सय ३६ जना पीडितले २१ करोड ६६ लाख ७१ हजार एक सय ४७ रुपैंयासमेत सहकारीले हिनामिना गरेकोबारे जाहेरी आएपनि उक्त जाहेरी भने दर्ता भएको छैन । अहिले यसबारे छानबिन भइरहेको इलाका प्रहरी कार्यालय धरानको डिएसपी प्रकाश जवेगुले बताए ।
यसैगरी धरान–११ मङ्गलबारेमा रहेको सुन पसल नुना स्टोर बन्द गरेर भागेका सञ्चालक वसन्त राईले सर्वसाधारणको सुन धितो राखेर र बचत गरेको रकम गरी ८३ जनाको चार करोड ३६ लाख एक हजार ६ सय ६६ रुपैंया अपचलन गरेको भन्दै उजुरी परेको डिएसपी जवेगुले बताए ।
सञ्चालक राई परिवारसहित कुनै जानकारी नदिई फरार भएको स्थानीय पीडित सम्झना राईले बताइन् । उनकाअनुसार स्टोरमा सुनचाँदी बाहेक रेमिटेन्सकोसमेत कारोबार गरिन्थ्यो । बन्धक राखिएको सुन निकाल्न बुझाएका साँवा र ब्याज रकम सुनसमेत लिई सञ्चालक वसन्त फरार भएपछि उनको खोजी कार्य भएपनि प्रहरीले फेला पार्न सकेको छैन । सम्झनाको सुनको औँठी र सिक्री धितोमा राखेर ऋण लिएकी थिइन् ।
धरान उपमहानगरपालिकाको सहकारी मुख पत्र आ.व.२०७९/०८० मा सक्रिय भनेर नै रहेको बराह बचत तथा ऋण सहकारी संस्थामा सयौँ मानिसहरूको बचत तथा सेयर रकम फिर्ता नदिएको भन्दै बारम्बार आन्दोलन गरिरहेको छ ।
यस संस्थाले मात्र धरानका अधिकांश बचतकर्ताको रकम फिर्ता नगर्दा पटक पटक आन्दोलन चर्किरहेको छ । जसले गर्दा कतिपय मानिसहरूको उठिबास नै भएको छ । धरान–१५ बस्ने दीपक कुमार बुढाथोकीको मात्र ६२ लाख रकम सहकारीमा राखेको भएपनि फिर्ता नपाउँदा बिचल्ली भएको बताए ।
बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न र विदेश जान पनि रोक लगाउन माग गर्दे गत वर्ष सेयर सदस्य तथा बचतकर्ताहरूले आन्दोलन गरेपनि पीडितहरूले न्याय नपाएको उनको भनाइ छ ।
बराह सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताको साँवा र ब्याज पाउन नसकेपछि गत वर्षको जेठ पहिलो साता बराह सहकारी पीडित सङ्घर्ष समिति गठन गरिएको थियो । उक्त समितिको अगुवाइमा पीडित बचतकर्ताहरू निरन्तर सङ्घर्षमा छन् । तर, बराह सहकारीले आफ्ना चतकर्ताहरूको पैसा फिर्ता गर्न सकेको छैन ।
धरान ग्रुप अफ कम्पनी अन्तर्गतको बराह सहकारीमा कति सेयर सदस्य तथा बचतकर्ताहरू छन्, र कति पैसा फसेको छ भन्ने अझै प्रस्ट भएको छैन । पीडितहरूले आन्दोलन सुरु गरेपछि उपमहानगरपालिकाले नै एक समिति गठन गरेर अध्ययन गरेको थियो ।
उक्त समितिले पनि यकिन तथ्याङ्क पाउन नसके पनि १३ हजार ५ सय ५४ जना बचतकर्ताहरू देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सहकारीले ५७ करोड ९० लाख बचतको विवरण दिएपनि सङ्घर्ष समितिसँग सम्पर्कमा आएका पीडित बचतकर्ताहरूको हिसाब गर्दा अहिलेसम्म ७ अर्ब बढी रकम सङ्कलन भएको देखिन्छ ।
धरानमा यस्ता सहकारी पीडितहरू हजारौँ छन् । जसले आफ्नो पैसा फिर्ता पाउनका स्थानीय तहदेखि प्रहरी प्रशासनसम्म धाएपनि यी सहकारी संस्थाहरूले भने बचत फिर्ता गरेका छैनन् ।
धरान उपमहानगरपालिकाले बनाएको सहकारी ऐन २०७५ को परिच्छेद १९ को दफा ७९ मा भने सञ्चालक समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफूखुसी परिचालन गरी संस्थालाई नोक्सानी पु¥याएमा कसुर गरेको मानिने व्यवस्था उल्लेख गरेको छ । उक्त ऐनमा १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ ।
ऐनको दफा ७७ मा संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको लगायतका अवस्थामा नगर कार्यपालिकाले सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुपर्ने व्यवस्था छ ।
Discussion about this post