इलाम । इलाम लगायत पहाडी जिल्लामा बोइलर कुखुराको मूल्य बृद्धि भएको छ । जाडो सिजनमा फारममा चल्ला नलगाइएका कारण मासुको अभावसँगै मूल्य बृद्धि भएको हो ।
जिल्लामा पहिला जस्तो बोइलर कुखुरा नभएका कारण मुल्य बृद्धि भएको ब्यवसायीहरुको भनाई छ । करिव दुई साता अघिबाट इलाम लगायत पहाडी जिल्लामा बोइलर कुखुराको मासु अभाव भएको हो । केही महिनाअघि जाडोका बेला इलाममा कुखुराका चल्ला नआएको र सोही कारण यस सिजनमा मासु अभाव भएको बताइएको छ ।
महंगो मूल्यमा आएकाले मूल्य बढेको मासु ब्यापारी हरि खड्काले बताए । उनका अनुसार केही समय अघिदेखि नै कम मात्रामा मासु पाइँदै आएको थियो । हाल सहज भए पनि प्रतिकिलो एक सय रुपयाँ बृद्धि भएको बताए । बजारमा एक साता अघिको तुलनामा एक सयदेखि डेढ सयसम्म प्रतिकिलो मूल्य बृद्धि भएको छ ।
इलाम बजारमा कुखुराको मासुको मूल्य मनपरी जस्तै छ । अभाव हुनुअघि इलाम बजारमा प्रति किलो चार सयमा किनबेच भइरहेको तयारी मासु हाल बृद्धि भएर पाँच सयदेखि छ सयसम्म पुगेको छ ।
ग्रामीण क्षेत्रमा भने सामान्य अवस्थामा नै छ सयसम्म मूल्य पर्ने गरेको थियो । ती क्षेत्रमा हाल तयारी बोइलर कुखुराको मूल्य नै सात सयसम्म पर्ने गरेको ब्यवसायीहरुको भनाई छ ।
इलाममा ब्यवस्थित खोर नभएका कारण पनि कम मात्रामा कुखुरा पालन हुने गरेको छ ।
यहाँ ब्यावसायिक रुपमा कुखुरा पालन गर्ने किसानहरु कम नै छन् । अन्य पेशा गर्दै कुखुरा पालन गर्ने किसान बढी छन् । चिसो मौसममा धेर चल्ला नसप्रिने, मृत्युदर संख्या समेत बृद्धि हुने गरेकाले किसानले चिसो सिजनमा कमै मात्रामा कुखुरा पालन गर्ने गरेको बताइएको छ ।
बोइलर कुखुरा लोकल कुखुराको तुलनामा कफल्लो हुने गर्दछ । चिसोमा उत्पादन नहुने भएकाले पनि हाल यो समस्या आएको कुखुरा ब्यवसायीहरुको भनाई छ । इलाम पहाडी जिल्ला भएका कारण पनि हिउँदमा बढी चिसो भएकै कारण भएका कुखुरा जोगाउन नै समस्या हुने किसानहरुको भनाई छ ।
बढी जाडो सहन नसक्ने भएकाले पनि जाडो सिजनमा उत्पादन कम हुने गर्दछ । न्यानो मौसम सुरु भए पनि केही महिनाअघि उत्पादनमा समस्या भएकाले हाल यस्तो प्रभाव परेको हो ।
चिसो मौसमसँगै किसानले चल्ला नलगाएका कारण यस सिजनमा उत्पादन कम भएकाले मासु अभाव भएको कुखुरा ब्यवसायी संघ इलामका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इलामका अध्यक्ष दिनेश महतले बताए ।
उनले माग बढी भएपछि स्वाभाविक रुपमा मूल्य बृद्धि भएको दाबी गरे । सम्वन्धित निकायले अनुगमन नगर्दा समेत मूल्यमा एकरुपता नआएको उनको भनाई छ । मापदण्ड विपरीत सञ्चालित फ्रेस हाउसलाई सरकारी निकायबाट नै बन्द गराउन पहल गरे आफूहरुको समेत समर्थन रहने उनले बताए ।
उद्योग वाणिज्य संघसँगकै सहकार्यमा सुधारको पहल भइरहेको उनले बताए । इलाममा दैनिक २५ सय किलोदेखि तीन हजार किलोग्राम सम्म बोइलरको मासु खपत हुने गरेको उनको भनाई छ । बिहेलगायत धेरै जमघट हुने खालका कार्यक्रम हुने महिनामा माग समेत बढ्ने बताइएको छ ।
साना तथा ठूला फर्म मार्फत उत्पादित कुखुरा इलाम सदरमुकाम सहित जिल्लाका अन्य बजारसम्म लैजाने गरिएको छ । हाल इलाममा इलाममा जिउँदो बोइलर कुखुराको मूल्य नै चार सयदेखि छ सयसम्म पर्ने गरेको छ । जिउँदो लोकल कुखुराकै मुल्य छदेखि आठ सयसम्म किनबेच हुने गरेको छ ।
Discussion about this post