विराटनगर : कोशी प्रदेशमा लगातार चार दिन सार्वजनिक बिदा परेको छ । आगामी बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो ।
तिहारको पाँच दिन लामो बिदा सोमबार मात्रै सकिएको छ । मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन् । मंगलबार र बुधबार दुई दिन कार्यालय खुल्ने छन् । सार्वजनिक बिदाका कारण बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन् ।
छठ पर्व मनाउनका लागि प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ । कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो । सूर्यदेवको उपासना गर्दै ४ दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिने छ ।
मंगलबारदेखि छठ सुरु भएको छ । पहिलो दिन नहाय खाय मनाइएको छ । दोस्रो दिन अर्थात बुधबार खरना पर्व मनाइन्छ ।
तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । तेस्रो दिन अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत रूपमा समापन हुने छ ।
तराई मधेसमा छठ पर्वको तयारी भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेल गर्नेको भिड लागेको छ । नदी, पोखरी तथा जलाशयलाई सजाउन थालिएको छ ।
कात्तिक २४ गते अर्थात शनिबार त्यसै पनि सार्वजनिक बिदा हो । प्रदेश सरकारले कात्तिक २५ गते आइतबार राष्ट्रिय विभूति एवं किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
Discussion about this post