प्रकाश तिम्सिना
इटहरी । सुनसरीको बर्जु गाउँपालिकामा बुधबार श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार श्रीमतीको मृत्य बारे कोशीप्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी गरायो । धेरै सञ्चारमाध्यममा उक्त दुर्घटनाको समाचार हेडलाइन नै बन्यो ।
तर घटना घटेको २४ घण्टा नबित्दै घटनाले अर्काे मोड लिएको छ ।
दुर्घटनामा परी मृत्यु भएकीबर्जु ३ बस्ने ३६ वर्षीया चन्द्रकला देवी रायको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । बुधबार दिउँसो श्रीमान श्रीमती मामाका छोराको विवाह पार्टी खाएर घर फर्किएका थिए । घरमा पुगेपछि श्रीमान शैलेन्द्र रायले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भई गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केही समय नबित्दै उनको मृत्यु भएको थियो ।
तर घटनालाई ढाकछोप गर्न श्रीमान शैलेन्द्रल मोटरसाइकल दुर्घटना भएको बहाना बनाएको तथ्य खुलेको हो । दुर्घटनामा मोटरसाइकल र चालकमाकुनै चोटपटक नदेखिएपछि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा हेरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले प्रारम्भिक अनुन्धानबाट श्रीमानले नै कुटपिट गरी हत्या गरेको बताए ।
उनले विवाहबाट फर्किदा बाटोमा भएको विवादलाई लिएर आवेशमा आएपछि घरमा लगेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी लिए । दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएको केही समयमै शैलेन्द्र आफैंले एम्बुलेन्समा राखेर अस्पताल लगेकाथिए । प्रहरीलाई बोलाएर आफैं अस्पताल लग्नु नै प्रहरीका लागि हत्या आरोपित शैलेन्द्रलाई शंका गर्ने आधार बनेको थियो ।
त्यसै अनुसार प्रहरीले शैलेन्द्रले गरेका क्रियाकलाप र कुराकानीबाट हत्या गरेको हुन सक्ने अनुसन्धान गरेको हो । अहिले हत्या आरोपित राय इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छन् । मृतक महिलाको पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post