काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो ।
लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । आजको खेल नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण थियो । कडा प्रतिस्पर्धा भइरहेको बेला ४४ ओभरसम्मको खेलमा नेपाललाई जितको लागि ३६ बलमा ४२ रन हाल्नुपर्ने बाध्यता थियो । तर पानी परेका कारण खेल रोक्कियो र डिएल मेथडमा जाँदा नेपाल २ रनले अगाडि देखिन पुग्यो । सोही आधारमा नेपालको खेलको निर्णय गरिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख र गुल्शन झाले अर्धशतक बनाएका थिए । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।
यसअघि लिग टू कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।
Discussion about this post