विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप फुटबलको आगामी संस्करणमा आठवटा टिमको सहभागिता रहने भएको छ ।
विराटनगरको शहीद रंगशालामा यही चैत ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । घरेलुसहित नेपाली र विदेशी गरी आठवटा टिमले सहभागिता जनाउने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा तीन विभागीयसहित नेपालका छ र विदेशी दुईवटा टिमको सहभागिता पक्का भएको जानकारी दिएको हो ।
त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका विभागीय टिम हुन् । विभागीयसहित संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सीटी फुटबल क्लबले प्रतियोगितामा खेल्ने छन् । विदेशी टिमका रूपमा डुक लयुल फुटबल क्लब भुटान र केरलाको लुका सकर क्लब सहभागी हुने छन् ।
भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी यसअघि विराट गोल्डकपमा सहभागी हुने भनिएको थियो । तर, अन्तिम समयमा दिल्ली सहभागी नहुने भएपछि त्यसका ठाउँमा भुटान भित्रिएको हो ।
गोल्डकपको विजेता टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार नगद पुरस्कार पाउने छन् । यसअघि विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार प्राप्त गरेका थिए ।
विराटनगरमा २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा यो प्रतियोगिता आयोजना गर्न थालिएको थियो ।
महेन्द्र गोल्डकपका नाममा २७ औँ संस्करणसम्म आयोजना भयो । तर, मुलुकको राजनीतिक परिवर्तनसँगै २०६८ सालबाट नाम परिवर्तन गरेर विराट गोल्डकप बनाइयो ।
नाम परिवर्तन भएपछि आयोजना हुन लागेको आगामी प्रतियोगिता सातौं संस्करणको हो ।
विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न दुई करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ ।
Discussion about this post