झापा । कोशी प्रदेशका व्यवसायीले आफूहरुलाई गरिखान सक्ने वातावरण सृजना गर्न माग गरेका छन् ।
उनीहरुले सरकारले आफूहरुलाई गरिखान सक्ने बातावरण सृजना नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
झापाको बिर्तामोडमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं प्रदेश सभामा सहभागी व्यवसायीले राज्यलाई खरबौं रुपैयाँ कर तिर्ने व्यवसायीहरु अहिले सडकमा आउदा समेत राज्य मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले राज्यले अब पनि ब्यवसायीलाई नहेर्ने हो भने सडकमा उत्रनुको विकल्प नरहेको बताए ।
उनले भने ‘कोरोना कहरका कारण सुस्ताएको व्यवसाय अहिले आर्थिक मन्दीका कारण झन् धरासायी बनेको छ । यस्तो अवस्थामा राज्य अफैं अभिभावक बनेर व्यवसायीको हितमा लाग्नु पर्नेमा व्यवसायी राज्य विहीनताको अवस्थामा पुग्नु आफैंमा दुःखद् पक्ष हो ।’
महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकालले आठ प्रतिशतमा लिएको कर्जाको व्याज बढेर १६ प्रतिशतसम्म पुग्दा पनि सरकार मौन बस्नु आफैंमा गैरजिम्वेवारीपन भएको आरोप लगाए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बैंक तथा बित्तीय क्षेत्रले व्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले भने ‘व्यापार व्यवसाय घटेर ४० प्रतिशतमा आएको छ तर व्याजदर भने दिनानुदिन बढिरहेको छ यो भन्दा ठूलो विडम्वना व्यवसायीका लागि के हुन सक्छ ?’
सभाका अधिकांश सहभागीले आर्थिक मन्दीले व्यवसायमा ठूलो असर परेको र नयाँ नेतृत्वले व्यवसायीका समस्या निराकणका लागि पहल गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल अलैंची व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, वागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कोशी प्रदेश सदस्य कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post