विराटनगर । प्रदेश नामकरण पहिचानका आधारमा नगरेको भन्दै असन्तुष्ट बनेका पहिचानवादीले गरेको प्रदर्शनका क्रममा विराटनगर तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जानबाट प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।
झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउनका लागि दमकलबाट पानीको फोहरा पनि प्रहार गरेको छ ।
रोडशेष चोक नजिक रहेको बिग होटलमा सांसदहरु समेत सम्मिलित कार्यक्रम आयोजना गरिएको छ ।
प्रदर्शनकारीहरु त्यही कार्यक्रममा सहभागी भएका सांसदहरुलाई घेराउ गर्दै मागप्रति ध्यानाकर्षण गराउने क्रममा त्यसतर्फ पनि जान खोजिरहेका थिए ।
प्रहरीले उनीहरुलाई बीचमै रोक्ने कोसिस गरेको थियो । त्यही क्रममा दुवै पक्षबीच झडप भएको हो ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलनरत छन् ।
चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको प्रदर्शनको क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलन चर्काइएको हो ।
आन्दोलनकारीले उनको मृत्यु प्रहरीको लाठी प्रहारका कारण भएको चोटको असर भनेर दाबी गरेका छन् । प्रहरीले भने लिम्बुमाथि लाठी प्रहार नगरेको बताउँदै आएको छ ।
प्रदर्शनकारीकै लाठी प्रकारका कारण उनको टाउकामा चोट लागेको प्रहरीले उल्लेख गरेको छ ।
Discussion about this post