रामधुनी । उद्योग वाणिज्य संघ झुम्काको आगामी चैत्र १९ गते आइतबार हुने भनिएको चुनाव तत्काल नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
व्यावसायी केदार श्रेष्ठले उवासंघ झुम्कामा गैरव्यावसायीहरूलाई मतदाताका रूपमा प्रयोग गरिएको भन्दै उच्च आदालत विराटनगरमा निवेदन दिएका थिए ।
न्यायधीश किरणकुमारी गुप्ताको एकल इजलासले तत्कालका लागि निर्वाचन नगर्न आदेश दिएको हो । आगामी १९ गते हुने भनिएको निर्वाचन तत्काल नगर्न आदेश दिदैँ अल्पकालिन अन्तरिम जारी गरेको हो ।
आदेशमा भनिएको छ ‘दुवै पक्षलाई राखि हुने छलफलबाट निष्कर्षमा पुगिने उपयुक्त हुने हुँदा देखिदाँ सो प्रयोजनका निमित्त २०७९।१२।१९ को पेशी तोकिई आइतबार हुन लागेको निर्वाचन नगरी यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी दिएको छ ।’
यसअघि रामधुनी नगरभित्र व्यावसाय सञ्चालन गर्ने मात्र मतदाता हुने भनिएपनि नगर बाहिर व्यावसाय भएको सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।
अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका लागि एकजनाबाहेक चारजनाले प्यानलै बनाएर चुनावी प्रतिष्पर्धामा थिए ।
अध्यक्ष पदसहित प्यानल घोषणा गर्नेहरूमा भरत कार्की, नवीन चौधरी, दुर्गा फुयाँल र भोला रौनियार रहेका छन् । कार्की उवासंघ झुम्काका वर्तमान उद्योग सचिव हुन् भने चौधरी महासचिव छन् ।
यस्तै, फुयाँल वाणिज्य सचिव छन् भन् रौनियार यसअघिको कार्यसमितिको उद्योग सचिव थिए । उता, सन्दीप गौतम अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनले भने प्यानलरहित उम्मेदवारी दिएका हुन् ।
जम्मा एक हजार ४९० मतदातामध्ये करीब चार सय मतदाता ‘फेक’ रहेको हुनसक्ने अनुमान गर्दै अदालतमा निवेदन परेको थियो ।
Discussion about this post