छैठौं संस्करणको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । धनगढी रंगशाला खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो ।
थ्रीस्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे । खेलको ७३ औं मिनटमा अनिल महर्जनले फ्रिकिकमार्फत थ्रीस्टारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेडद्वारा गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे । मध्यान्तरसम्म दुवै टिमबाट गोल हुन सकेन ।
फाइनल खेलको म्यान अफ अफ द म्याच थ्रीस्टारका अनिल महर्जन चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपाधिसँगै थ्रीस्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङ मर्स्याङ्दीले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
विधागत तर्फको पुरस्कारमा समेत थ्रीस्टारको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलरक्षक थ्रीस्टारकै मोहम्मद ताहा रहे । उत्कृष्ट डिफेण्डर पनि थ्रीस्टारका पिटर सेगुन, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी घोषित भए ।
यस्तै उत्कृष्ट मिडफिल्डर मनाङका बिशन गुरुङ र सर्वाधिक गोलकर्ता सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सुदूरपश्चिम—११ का दिेपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
Discussion about this post