इलाम । पूर्वी पहाडी जिल्ला इलाममा गुणस्तरीय खेल मैदान अभाव छ । व्यवस्थित खेल नहुँदा खेलाडी र खेलप्रेमीलाई समस्या हुँदै आएको छ ।
साना–साना मैदान धेरै छन् । मापदण्ड अनुसारको मैदान भने अभाव छ । यहीकारण ठूला प्रतियोगिता पर्याप्त आयोजना हुन सकिरहेको छैन ।
इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेल यहाँ ठूलो र अलि व्यवस्थित मैदान हो । तर यो नेपाली सेनाको स्वामित्वमा छ । यहाँ पूर्वी पहाडकै प्रतिष्ठित माइभ्याली गोल्डकप फूटबल प्रतियोगिता हुँदै आएको थियो । प्रतियोगिता दुई वर्षदेखि सञ्चालन हुन सकेको छैन ।
कोरोना महामारीयता रोकिएको प्रतियोगिता अझै अनिश्चित बनेको छ ।
सदरमुकाममा रहेको ठूलो टुडिखेलको स्तरोन्नति नभएपछि प्रतियोगिता सञ्चालनमा कठिनाई भएको बताइएको छ । बर्खामा मैदानको एक भागमा भल पसेर क्षति गरेको छ ।
करिब दुई वर्ष कोरोना महामारीले देशैभरको खेलकुद र गोल्डकपहरु प्रभावित बने । तर त्यसपछि देशका अन्य स्थानमा ठूला प्रतियोगिता भए पनि इलाममा ठूला प्रतियोगिता हुन सकिरहेको छैन ।
टुँडिखेल सेनाको स्वामित्वमा रहेकाले खेलकुदका गतिबिधि सञ्चालन गर्न सेनाको स्वीकृति चाहिन्छ । गोल्डकप सहित खेलकुद गतिविधिका लागि सेनाले स्विकृति दिँदै आएको छ ।
पहाडी मैदानमा प्रायः ढुंगा हुन्छन् । नियमित स्याहार नगरिँदै मैदान जीर्ण बन्दै गएका छन् । घाँसे मैदान बनाउन पटक–पटक प्रयास भएपनि व्यवस्थित हुन सकिरहेको छैन ।
मैदानलाई ब्यवस्थित बनाउने प्रयास भइरहेको अखिल नेपाल फूटवल संघका पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले बताए । उनले यसअघि पनि प्रयास भएको तर सदरमुकाममा एउटा मात्र मैदान भएका कारण पनि समस्या हुँदै आएको उल्लेख गरे ।
ठूला प्रतियागिता तथा गोल्डकप नहुँदा राष्ट्रिय स्तरका खेलाडीको खेल कौशल नजिकबाट हेने इलामेली दर्शक समेत निराश बनेका छन् । जिल्लामा प्रतियोगिता हुँदा जिल्ला बाहिरका धेरै पर्यटकहरु भित्रिने गरेको भएपनि खेल पर्यटकहरु हाल नआएको होटल सञ्चालकहरुको भनाई छ ।
इलाममा खेल कौशल सिक्दै यहीँ खेल खेलेका राष्ट्रिय जर्सी पहिरिन सफल पूर्व राष्ट्रिय खेलाडी लोकबन्धु गुरुङ सहित अहिलेका चर्चित राष्ट्रिय खेलाडी रहेका नवयुग श्रेष्ठ, छिरिङ गुरुङ्ग, दर्शन गुरुङ इलामकै उत्पादन हुन् ।
उनीहरु जस्तै बन्न खोज्ने र भोलिका लागि आशा बोकेका खेलाडीहरु व्यापक भएपनि स्तरीय मैदान अभावले खेल प्रतिभाहरू पलायन हुने स्थिति बनेको स्थानीय खेलाडीहरुको भनाई छ ।
राज्यले खेलाडी र खेलका लागि रकम छुट्याउने गरेको भएपनि जिल्ला स्तरमा खेल मैदानसम्म नआउने गरेको जिल्लाका अग्रज खेल क्षेत्रमा लागेकाहरुको भनाई छ ।
मैदानको मर्मत र स्तरोन्नतिका साथै स्टेडियम बनाउने बिषयमा इलामनगरपालिका र नेपाली सेनाबीच छलफल भइरहेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालको भनाई छ ।
उनले इलाममा खेलप्रतिको आकर्षण व्यापक रहेकाले पनि यस मैदानलाई ब्यवस्थित गर्न आफूहरु लागि परेको बताए । यस अघि इलाम नगरपालिकाका मेयर, उपमेयर सहतिको टोलीले नेपाली सेनाका प्रमुख लगायतसँग छलफल समेत गरेको थियो ।
नेपाली सेना समेत इलामको टुँडिखेलमा ठूला प्रतियोगिता सञ्चालन गर्न गराउन सकारात्मक भएको बताइएको छ । यस मैदानको स्तरोन्नति र खेलाडीको खेल कौशल बढाउने कार्यमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
जिल्लाका सबैजसो पालिकाहरुमा खेलका कुनै न कुनै प्रतियोगिताहरु भइरहेका हुन्छन् । स्थानीयले आफ्नै प्रयासमा खेल गतिविधि गरिरहेका छन् ।
कतिपय स्थानमा पालिकाहरुले सहयोग गरे पनि पर्याप्त हुन नसकेको सम्बद्ध संस्थाका पदाधिकारीहरुको गुनासो ।
यस्तो अवस्था भए पनि गतिला खेल मैदान नहुनु, खेलाडीले नियमित प्रशिक्षणको अवसर नपाउनु, खेल सामग्रीहरुको अभाव हुनु जस्ता समस्याले खेल क्षेत्र प्रभावित बनिरहेको छ ।
ठूलो टुँडिखेलको ऐतिहासिक पक्ष
इलाममा २०५२ देखि ०५४ सम्म आयोजित भूकम्पपीडित स्मृति कपपछि अन्तराष्ट्रियस्तरको ठूलो प्रतियोगिता आयोजना गर्न थालिएको थियो ।
राणा शासनकालमै निर्माण भएको बजारको तल्लो भागमा अवस्थित टुडिखेलले सयौं प्रतिभा जन्मायो र निखाऱ्यो पनि ।
तर त्यसको रुप फेर्न कसैले पर्याप्त चासो देखाएन । विसंं १९३९ तिर श्रीनाथ पल्टन यहाँ आएपछि हलगोरु नारेर मैदान सम्याएको इतिहास छ ।
उतिबेला पुरुषहरू गोरु नारेर मैदान सम्याउने र महिलाहरूले मकै भुटेर खाजा खुवाएको पाकाहरूले सुनाएको नागरिक समाजका अगुवा धर्म गौतम सम्झन्छन् ।
लामो समयसम्म पल्टनलाई परेड खेलाउन प्रयोग गरिएको मैदानमा १९९० पछि फुटवल खेल सुरु भएको इतिहास छ ।
राणा शैनिक र स्थानीयबीच हुने प्रतियोगिता अबेरसम्म चल्ने भएकाले पेट्रोलम्याक्स बालेर पनि खेल सञ्चालन हुने जानकारहरू बताउँछन् ।
आधुनिक फुटबल विकाससँगै विभिन्न जिल्लास्तरीय र क्षेत्रीयस्तरको प्रतियोगिता थेगेको टुडिखेलमा २०४१ मा आयोजित अन्तरअञ्चल महिला फुटबल प्रतियोगिता ठूलो हो ।
मेचीदेखि महाकालीसम्मका महिला टिम उतिबेला सहभागी थिए । २०५२ देखि ०५४ सम्म भूकम्पपीडित फुटबल प्रतियोगिता सञ्चालन भयो ।
त्यसपछि जिल्ला र क्षेत्रस्तरका प्रतियोगिताको भर पर्दै आएको त्यही टुडिखेलमा माइभ्याली सुरु हुनु एक वर्षअघि प्रथम लुम्बिनी महिला फुटबलको भव्य आयोजना भयो ।
त्यही प्रतियोगिताको उत्साहले पनि अन्तराष्ट्रिय माइभ्याली गोल्डकप आयोजना गर्न आयोजकलाई बल पुग्यो ।
Discussion about this post