काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।
‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड(१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’
लामो समयसम्म संक्रमणशून्य रहेको अवस्थामा केही सातायता फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।
गत चैत १२ गते एकै दिन १६ जनामा संक्रमण देखिएको थियो । त्यसयता संक्रमित थपिने क्रम जारी छ ।
भारतमा संक्रमण बढेका कारण नेपालमा पनि संक्रमण बढेको विज्ञहरुको भनाइ छ । सीमा नाकाबाट आउनेहरुमा संक्रमण पाइएपछि सतर्कता बढाउनुपर्ने अवस्था देखिएको उनीहरुको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २०७९ फागुन ९ गतेसम्म नेपालको जनसंख्याको ७६.५ प्रतिशत र १२ वर्ष माथिका ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लगाउनेको संख्या भने ज्यादै कम छ । बुस्टर डोज लगाउनेको संख्या २७ प्रतिशत मात्र रहेको जनाइएको छ ।
संक्रमण बढ्न थालेकाले अब आधारभूत स्वास्थ्य मापदण्ड पालनामा सबैले गम्भीर हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
Discussion about this post