शुद्ध दुध प्याकिङ गरी उपभोक्ताको घर घरमा पुर्याईदिन इटहरीको दुग्ध उत्पादक सहकारी संस्थालाई उपभोक्ताहरुले आग्रह गरेका छन् । इटहरीमा गाईभैसीको शुद्ध दुध खरिद विक्रि गर्ने संस्था भनेर परिचित दुग्घ उत्पादक सहकारी संस्थालाई अब दुधको होम डेलीभरी सुविधा उपलब्ध गरिदिन आग्रह गरेका हुन् ।
सोमबार आफ्नै कार्यलयमा आयोजना गरिएको संस्थाको ४५ औँ बार्षिक साधारण सभामा बोल्ने अतिथी वक्ता तथा अन्य उपभोक्ताहरुले बजारमा पानी मिसाएको दुध खाँदा हैरान भएको भन्दै संस्थाले शुद्ध दुधको होम डेलीभरीको सुविधा दिनुपर्ने धारणा राखे ।
शहरका चौक चौकमा खुलेका अनगिन्ती डेरीपसल र मोटरसाईकल, साईकलमा डुलाउँदै ल्याउने दुधवाला कसैबाट पनि शुद्ध दुध खान नपाएको पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश भट्टराईले बताए । उनले भने, “मैले थाहापाए देखी यो संस्थाले शुद्ध दुध खरिद विक्री गर्दै आएको छ । हामी शुद्ध दुध खोज्दै कहाँ जाने मिसावट दुध खाएर हैरान भैयो, अब संस्थाले नै प्याकिङ गरी घर घरमा पुर्याउने व्यवस्था गर्नुपर्छ ।”
अध्यक्ष भट्टराई जस्तै अन्य वक्ता तथा उपभोक्ताहरुले पनि बजारमा शुद्ध दुधको माग बढ्दै गएको बताए । स्वास्थ्यका लागि शुद्ध दुध आवश्यकता भए पनि पानि मिसावट दुधमा खर्च मात्रै भएको धेरैको गुनासो छ । सहकारीहरु नियम कानुन भन्दा बाहिर गएर सञ्चालन भएका कारण समस्यामा पर्ने गरेको कार्यक्रमका प्रमुख अतिथी दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका पूर्व केन्द्रीय सदस्यतथा सल्लाहाकार संयोजक उमाकान्त शर्माले बताए ।
पछिल्लो समय पूर्वका धरान, इटहरी लगायतका सहकारीहरु समस्यामा परेर भाग्नुपर्ने स्थिती आएको भन्दै सहकारीहरु नियमअनुसार सञ्चालन हुनुपर्ने बताए । किसानबाट संकलन गरिएको शुद्ध दुध नै उपभोक्तालाई विक्री गर्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष खेम प्रसाद काफ्ले जानकारी दिए । बजारमा उपभोक्ताको माग बढ्दै गएकाले दुधको प्याकिङ सहित होम डेलिभरी सर्भिस तर्फ पनि अघि बढ्नु पर्ने आवश्यकता देखिएको अध्यक्ष काफ्ले बताए ।
संस्थाले अहिले दैनिक १ हजार ५ सय लिटर दुध किसानबाट खरिद गरी विक्री गर्दै आएको छ । योसँगै दहि,पनिर,खुवा, नौनीध्यू सुपथ मुल्यमा िवक्रीवितरण गर्दै आएको अध्यक्ष काफ्ले जानकारी दिए ।
यस्तै, गाईभैँसीको दाना, चोकर, ब्रान, मैक पिठो,पशु चौधरी, घाँसको विऊ लगायतका अन्य सामाग्रीहरु सहज रुपमा किसानलाई उपलब्ध गराएर प्रोत्साहन गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोईरालाले बताए ।
सोमबार संस्थाले बार्षिक साधारण सभामा २७ जना किसान र ७ जनाउपभोक्तालाई पुरस्कृत गरेको छ । नियमित रुपमा दुध ल्याउने, उत्कृष्ठ कारोबार गर्ने किसानलाई सम्मान गरिएको हो । बढि दुध खरिद गर्ने ७ जना उपभोक्तालाई पनि संस्थाले सम्मान गरेको छ । नियमित रुपमा दुध ल्याउने र बढि कारोबार गर्ने किसान श्रीमती तारा चापागाईलाई ८ हजार बराबरको साईकल पुरस्कार प्रदान गरिएको छ । अन्य किसानहरुलाई विभिन्न सामाग्री पुरस्कारको रुपमा वितरण गरिएको संस्थाका सचिव राजेन्द्र धमलाले जानकारी दिए ।
दुग्ध उत्पादक संस्थाले भैँसी पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप ऋण पनि लगानी गर्दै आएको छ । भैँसी खरिदका लागि समुह जमानीमा बार्षिक १० प्रतिशत व्याजदरमा विना धितो ऋण उपलब्ध गराउँदै आएको छ । किसानका गाईभैँसी सुत्केरी हुँदा १ हजार बराबरको औषधी पनि निशुल्क उपलब्ध गराउँदै आएको छ । यी लगायत अन्य पशु विमाको कार्यक्रम मार्फत सुविधा उपलब्ध गराउँदै आएको संस्थाका व्यवस्थापक ध्रुव कोईरालाले जानकारी दिए ।
Discussion about this post