पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री डा। टकराज गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा पूँजिगत खर्चलाई प्राथमिकता दिइएको छ।
बजेट अनुसार कुल रकममध्ये १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ (५९.७ प्रतिशत) पूँजिगत खर्चका लागि छुट्याइएको छ भने १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ प्रतिशत) चालु खर्चतर्फ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ २५ करोड (०.८ प्रतिशत) विनियोजन गरिएको छ।
मन्त्री गुरुङका अनुसार चालु आर्थिक वर्षको अन्त्यमा २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ मौज्दात हुने अनुमान गरिएको छ। आगामी खर्च व्यवस्थापनका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट जुटाइनेछ।
प्रदेशको कुल खर्च व्यहोर्नका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ आउने अनुमान गरिएको छ। त्यसैगरी राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानबाट ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
आन्तरिक राजस्वतर्फ ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ।
प्रतिक्रिया